तपाईँ सुन्दै हुनुहुन्छः

सुशासनको पक्षमा काम पार्टी माओवादी : अध्यक्ष प्रचण्ड

रुकुम पूर्व । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक न्यायसहितको सुशासनको पक्षमा काम गर्ने पार्टी माओवादी भएको बताउनुभएको छ।

बुधबार रुकुम पूर्वको रुकुमकोटमा आयोजित “जनतासँग माओवादी–मध्यपहाडी लोकमार्ग जनजागरण अभियान” अन्तर्गतको जनसंवाद कार्यक्रममा उहाँले माओवादी केन्द्रले सरकारको नेतृत्व गरेको बेला जनताको जीवनस्तर सुधार गर्न उल्लेखनीय काम भएको बताउनुभयो। 

नेपालका सबै राजनीतिक दल एउटै हुन् भन्ने धारणा गलत भएको उल्लेख गर्दै प्रचण्डले माओवादी केन्द्र जनताको पक्षमा स्पष्ट अडान राख्ने पार्टी भएको जिकिर गर्नुभयो।

उहाँले माओवादी नेतृत्वमा निर्माण भएको मध्यपहाडी लोकमार्ग विकासको मेरुदण्ड बनेको र यसले रुकुम पूर्वजस्ता क्षेत्रलाई प्रत्यक्ष फाइदा पुर्याएको बताउनुभयो। जनयुद्धका क्रममा रुकुमको योगदान स्मरण गर्दै अबको प्राथमिकता तीव्र विकासमा रहेको स्पष्ट पार्नुभयो।

कार्यक्रम अघि अध्यक्ष प्रचण्डसहित पार्टीका शीर्ष नेताहरूले शहीद परिवार, बेपत्ता तथा द्वन्द्वपीडितहरूसँग भेटघाट गर्नुभएको थियो भने बिहानै प्रेस सेन्टर नेपाल, रुकुम पूर्वद्वारा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो।

कार्यक्रम जिल्ला पार्टी इन्चार्ज तेजबहादुर ओलीको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा अध्यक्ष प्रचण्डसहित नारायणकाजी श्रेष्ठ, नन्दबहादुर पुन ‘पासाङ’, कृष्णबहादुर महरा, अग्नी सापकोटा, पम्फा भुसाल, देव गुरुङ लगायत नेताहरूको उपस्थिति थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button