तपाईँ सुन्दै हुनुहुन्छः

कर्णाली प्रदेशको नीति तथा कार्यक्रम ल्याइँदै

सुर्खेत । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम यहीँ जेठ १८ गतेसम्ममा ल्याउने तयारी गरेको छ । 

चालु आर्थिक वर्षको तुलनामा आगामी वर्षको वार्षिक नीति, कार्यक्रम तथा बजेट कार्यान्वयनका लागि प्रदेश सरकारले बजेटको दायरा बढाउने तयारी गरेको हो । प्रदेश सरकारले चालु आर्थिक वर्षमा ३१ अर्ब ४१ करोड ४१ हजारको बजेट ल्याएको थियो । सरकारको नीति तथा कार्यक्रम पारित भएपछि असार १ गते बजेट ल्याउने तयारी छ । 

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाहले विगतको तुलनामा यस वर्षको बजेट परिमार्जन भएर आउने बताउनुभयो । उहाँले चालु आर्थिक वर्षको बजेट ७५ प्रतिशत कार्यान्वयन हुने अपेक्षासहित आगामी वर्षको बजेटको अंक बढेर आउने जनाउनुभयो । 

प्रदेश सरकारले आयोजना छनौटमा रोजगारीका तीन क्षेत्र कृषि, साना उद्योग र पर्यटनलाई विशेष प्राथमिकतामा राखेको छ । मन्त्री शाहले प्रदेशको सन्तुलित विकास गर्न आगामी आर्थिक वर्षलाई अधुरा आयोजना सम्पन्न गर्ने वर्षका रुपमा समेत लिइने जनाउनुभयो । प्रदेश सरकारले आगामी वर्ष नयाँ र दीर्घकालीन महत्वका आयोजना प्रस्ताव गर्दा सोको विस्तृत परियोजना प्रतिवेदन र वातावरणीय अध्ययनको आधारमा बहुवर्षीय आयोजनाका रुपमा स्वीकृत गरी कार्यान्वयन गर्ने नीति पनि लिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button