तपाईँ सुन्दै हुनुहुन्छः

आन्तरिक राजस्व कार्यालय बीरगंजद्वारा लक्ष्यभन्दा धेरै राजस्व सङ्कलन

बीरगंज। आन्तरिक राजस्व कार्यालय बीरगंजले चालु आवको नौ महिनाका अवधिमा लक्ष्यभन्दा धेरै राजस्व सङ्कलन गरेको छ ।

आन्तरिक राजस्व विभागले कार्यालयलाई चालु आवको नौ महिनाको अवधिमा रु छ अर्ब १३ करोड ९५ लाख ६९ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेमा कार्यालयले सो अवधिमा रु छ अर्ब ६५ करोड ७९ लाख आठ हजार अर्थात् १०८ दशमलव ४४ प्रतिशत राजस्व सङ्कलन गरेको हो ।  कार्यालयका प्रमुख कर अधिकृत टिकाराज चौलागाँइले चालु आर्थिक वर्षमा कार्यालयको राजस्व सङ्कलन उत्साहजनक भएको बताउनुभयो ।

“कार्यालयले चालु आवको नौ महिनाको लक्ष्यको आधारमा अन्तःशुल्क कर तर्फ १३९ प्रतिशत राजस्व सङ्कलन गरेको छ,” उहाँले भन्नुभयो,“आयकरतर्फ पनि करिब शतप्रतिशतकै हाराहारीमा राजस्व सङ्कलन भएको छ ।”

विभागले कार्यालयलाई आयकरतर्फ चैतसम्म रु दुई अर्ब १३ करोड २५ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य दिएकोमा कार्यालयले आन्तरिक आयतर्फ चैतसम्म दुई अर्ब ११ करोड ४७ लाख ५७ हजार अर्थात् ९९ दशमलव १७ प्रतिशत राजस्व सङ्कलन गरेको छ । त्यस्तै अन्तःशुल्क करतर्फ दुई अर्ब १६ करोड ६१ लाख लक्ष्य रहेकोमा तीन अर्ब ९६ लाख २४ हजार अर्थात् १३८ दशमलव ९४ प्रतिशत राजस्व सङ्कलन गरेको छ । त्यस्तै बहाल करतर्फ २२ करोड ९१ लख चार हजार सङ्कलन गरेको छ । 

त्यस्तै व्याज करतर्फ भने ४५ करोड ५७ लाख सङ्कलन गरेको छ । मूल्य अभिवृद्धि कर तर्फ एक अर्ब ७५ करोड ३३ लाख ६७ हजार लक्ष्य राखेकोमा एक अर्ब ४३ करोड ३९ लाख ९४ हजार अर्थात् ८३ दशमलव ५ प्रतिशत राजस्व सङ्कलन गरेको छ ।  विभागले कार्यालयलाई वर्षभरिमा भने आठ अर्ब ७१ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button