अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेटघाट
काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा.विश्व पौडेलले भेट्नु भएको छ ।
आज बिहान अर्थ मन्त्रालय पुगी नवनियुक्त गभर्नर पौडेलले अर्थमन्त्री पौडेललाई भेट्नु भएको हो । सो अवसरमा अर्थमन्त्री पौडेलले हार्दिक बधाई दिँदै सफल कार्यकालको शुभकामना दिनुभयो ।

अर्थमन्त्री पौडेलले वित्त नीति र मौद्रिक नीतिबिच समन्वय गरी अघि बढ्ने उल्लेख गर्दै नवनियुक्त गभर्नर पौडेलले अर्थतन्त्र र मौद्रिक क्षेत्रमा देखा परेका समस्या समाधानमा महत्वपूर्ण पहल गर्नुहुने विश्वास व्यक्त गर्नुभयो ।

नवनियुक्त गभर्नर पौडेलले अर्थ मन्त्रालयले देशको अर्थतन्त्रको नेतृत्व गर्ने र नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत वित्त नीति कार्यान्वयनमा सहयोग पुर्याउने बताउनुभयो । उहाँले वित्तीय क्षेत्रको प्रभावकारिताका लागि राष्ट्र बैङ्कको सुपरिवेक्षक क्षमतामा जोड दिने बताउनुभयो ।

सो अवसरमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, अर्थ सचिव घनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरे लगायत नवनियुक्त गभर्नर पौडेललाई बधाई तथा शुभकामना दिनुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्