धार्मिक क्रियाकलापले समाजलाई सुव्यवस्थित ढंगले अगि बढाउन टेवा पुर्याउँछ सभामुख घिमिरे
भक्तपुर । सभामुख देवराज घिमिरेले धार्मिक क्रियाकलापले संस्कृति र परम्पराको महत्व दर्शाउँदै समाजलाई सुव्यवस्थित र सरल ढंगले अगि बढाउन टेवा पुर्याउने बताउनुभएको छ ।
सनातन पितृमुक्ति समाजले गठ्ठाघरमा आयोजना गरेको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ उद्घाटन कार्यक्रममा बोल्दै सभामुख घिमिरेले धार्मिक कार्यको माध्यमबाट समाजको उत्थान गर्नुपर्ने बताउनुभयो ।
उहाँले समाज ,राष्ट्र ,आफैँ र आफ्नै घरपरिवार प्रति जिम्मेवार बोध गर्ने असल नागरिक निर्माण अहिलेको आवश्यकता रहेको बताउनुभयो ।
सभामुख घिमिरेले पश्चिमा दर्शन हाम्रै पूर्वीय दर्शनमा आधारित रहेको बताउँदै यसैमा टेकेर उनीहरूले विज्ञानलाई प्रयोग गर्दै चमत्कार प्रदर्शन गर्दै आएको बताउनुभयो ।
नयाँ पुस्ता विज्ञानले गरेका प्रगति र चमत्कार देखेर पश्चिमा दर्शनप्रति बढी आकर्षित भए पनि त्यसको जग पूर्वीय दर्शन र संस्कृति नै रहेको सभामुख घिमिरेले बताउनुभयो ।
पश्चिमा दर्शनले पूर्वीय दर्शनबाट पाठ सिकेको बताउँदै उहाँले अहिले अमेरिकामा वेदको अध्ययन र अनुसन्धान हुन थालेको उल्लेख गर्नुभयो ।
अधुरो रहेको पितृमुक्ति भवन निर्माण सम्पन्न गर्न आजेदेखि श्रीमद् भागवत महायज्ञ सुरु भएको हो ।
सनातन पितृमुक्ति समाज, गठ्ठाघरका अध्यक्ष खेम सुवेदीले भवन निर्माणको उद्देश्यले महायज्ञ गर्न लागिएको जानकारी दिनुभयो ।
सुवेदीका अनुसार महायज्ञबाट उठेको दान रकमबाट भवन निर्माण सम्पन्न गरी बाँकी रकम अक्षयकोष स्थापना र पुस्तकालय निर्माणमा खर्च गरिनेछ । प्रचार संयोजक नारायण न्यौपानेका अनुसार महायज्ञमा प्रमुख कथा वाचन राधिका दाशीले गर्दै हुनुहुन्छ ।
जेठ १० गतेसम्म सञ्चालन हुने महायज्ञबाट करिब दुई करोड रुपैयाँ सहयोग सङ्कलन गर्ने लक्ष्य लिइएको छ।
महायज्ञ सफल बनाउन १७ वटा उपसमिति गठन गरिएको छ। सो भवन भवनको निर्माणको थालनी २०६९ सालमा लगाइएको महायज्ञबाट सङ्कलित रकमबाट गरिएको थियो।
प्रतिक्रिया राख्नुहोस्