तपाईँ सुन्दै हुनुहुन्छः

आव २०८२/०८३का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता माथि छलफल जारी

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा आजपनि आर्थिकवर्ष २०८२/०८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता माथि छलफल भइरहेको छ ।

छलफलमा भाग दिँदै नेपाली कांग्रेसका सांसद धनराज गुरुङले समाजवाद उन्मुख अर्थतन्त्र निर्माणका लागि स्पष्ट सिद्धान्त आवश्यक रहेको र त्यसका लागि उत्पादन र वितरणबिचको सन्तुलन मिलाएर समाजवादलाई कार्यान्वयन गर्न सक्नुपर्ने बताउनुभयो ।

सांसद गुरुङले विगतमा भनाइमा समाजवाद र गराइमा लोकप्रियतावाद भएकाले चुकिरहेको भन्दै आगामी दिनमा त्यस्तो हुन नदिन सबै क्षेत्रमा सही ढङ्गबाट बजेट विनियोजन गरी कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभयो ।

नेकपा एमालेका सांसद लिलानाथ श्रेष्ठले योजना एकातिर काम अर्कोतिर हुँदा लक्ष्यमा पुग्न नसकिने भन्दै १६ औँ पञ्चवर्षीय योजना अनुसार बजेट बन्न सक्नुपर्ने बताउनुभयो ।

सांसद श्रेष्ठले मानव सूचकाङ्कका आधारमा बजेट विनियोजन हुनुपर्ने भन्दै मधेसलाई सामाजिक र आर्थिक रुपमा रूपान्तरण गर्नुपर्ने र कसरी समाजवादमा जान सकिन्छ भन्ने विषयमा ध्यान दिएर जनतालाई आशा जगाउने र विश्वास दिलाउने गरी बजेटमा व्यवस्था हुनुपर्नेमा जोड दिनुभयो ।

नेकपा माओवादी केन्द्रका सांसद हितराज पाण्डेले मुलुकको विकासका लागि उद्योगमा जोड दिएर अगाडी बढ्नुपर्ने र पहिले साना उद्योगबाट मझौला र ठूला उद्योगमा जोड दिने गरी बजेट व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद पाण्डेले स्थानीय तहमा बजेट बढाएर स्थानीय तहको विकास गर्न सके मात्रै समग्र मुलुकको विकास गर्न सकिने भन्दै मुलुकमा रोजगारी सिर्जना गर्न सकिने खालका विषयवस्तुमा जोड दिने गरी बजेट आउनुपर्ने बताउनुभयो ।

छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले सरकारले प्रत्येक वर्ष  एजेण्डा थप्ने तर कार्यान्वयन नगर्ने प्रवृत्तिले जनतामा निराशा छाएको भन्दै जनतामा आशा जगाउने खालका विषयहरूलाई प्राथमिकतामा राख्नुपर्ने  बताउनुभयो ।

सांसद डा. वाग्लेले आगामी बजेट आय र व्ययको सन्तुलन मिलाउने गरी, मुलुकको आर्थिक संकट कम गर्नेगरी, आर्थिक वृद्धिका संवाहकहरूमा नयाँ कुरा आउन जरुरी रहेको र सूचना प्रविधि क्षेत्रलाई प्रभावकारी ढङ्गबाट अगाडी बढाउन सक्नेगरी बजेट व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।

राप्रपाका सांसद राजेन्द्र प्रसाद लिङ्देनले कमजोर अर्थतन्त्रलाई मजबुत बनाउन नियमित कार्यक्रमबाट मात्रै सम्भव नभएको भन्दै यसका लागि विशेष योजना र कार्यक्रम आवश्यक रहेको बताउनुभयो ।

सांसद लिङ्देनले नीजि क्षेत्रमैत्री बजेट बनाउने भन्ने विषयमा गफ र भाषण मात्रै नभई प्रतिबद्धता र व्यवहारमा मेल खानुपर्ने भन्दै उद्योगीहरूलाई साँच्चीकै उद्योगी  व्यवसायी बनाउनका लागि सरकारले ऐन, कानुनहरूमा सुधार र राजनीतिक दलहरूले व्यवहारमा परिवर्तन गर्नुपर्ने बताउनुभयो ।

नेकपा एकिकृत समाजवादीका सांसद अम्मर बहादुर थापाले सिद्धान्त र प्राथमिकतामा धेरैजसो राम्रा विषयहरू समेटिएको र सकारात्मक रुपमा आएको भन्दै लागु गर्ने विषयमा चुक्न नहुने बताउनुभयो ।

जनमत पार्टीका सांसद अब्दुल खानले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा धेरै कुरा समेटिएको र सकारात्मक रुपमा आएकाले त्यसमा समेटिएका सबै विषयवस्तुको कार्यान्वयनमा जोड दिन आग्रह गर्नुभयो ।

जनता समाजवादी पार्टीका सांसद दिपक कार्कीले विकास निर्माणका कामहरूमा संघ, प्रदेश र स्थानीय तहमा दोहोरो प्रणालीका कारण समस्या देखिएको भन्दै त्यसलाई अन्त्य गर्ने खालको कार्यविधि निर्माण गर्न जरुरी रहेको बताउनुभयो ।

छलफलमा सांसदहरु सर्वेन्द्रनाथ सुक्ला, प्रेम सुवाल, प्रभु साह, डा. अमरेश कुमार शाहलगायतले सरकारले प्राविधिक शिक्षामा जोड दिएर युवाहरूलाई मुलुकमै अध्ययनको वातावरण निर्माण, स्वास्थ्य क्षेत्रमा पर्याप्त जनशक्ति व्यवस्थापन, कृषिमा सिँचाइको सहज सुविधा लगायतका क्षेत्रमा पर्याप्त बजेटको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

प्रतिनिधिसभामा आर्थिकवर्ष २०८२/०८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता माथि सांसदहरुले बोल्ने क्रम जारी छ ।

बैठकमा छलफलमा उठेका प्रश्नहरूमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले जवाफ दिने कार्यसूची रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button