तपाईँ सुन्दै हुनुहुन्छः

बीमा कम्पनी सुगममा मात्र होइन, दुर्गमसम्म पुग्नुपर्छ : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली देशका मुख्यमन्त्री यामलाल कँडेलले सुगम क्षेत्र मात्र केन्द्रित नभई दुर्गमका जिल्लाहरूमा समेत सेवा विस्तार गर्न बीमा कम्पनीहरूसँग आग्रह गर्नुभएको छ ।  

आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजित नेपाल बीमा प्राधिकरणको ५७औँ वार्षिकोत्सव कार्यक्रममा मुख्यमन्त्री कँडेलले कर्णाली जस्तो भौगोलिक रुपमा विकट र विपद्को उच्च जोखिममा रहेको क्षेत्रमा बीमा सेवाको पहुँच जीवन रक्षक सावित हुन सक्ने बताउनुभयो ।

नागरिकको जीवनस्तर उकास्न बीमा कम्पनीहरूले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउँदै उहाँले कर्णाली विपद्को उच्च जोखिममा रहेकाले बीमा कम्पनीहरूले जनताको विश्वास जित्ने गरी काम गर्नु पर्नेमा जोड दिनुभयो । 

कर्णालीमा स्वास्थ्य, कृषि, पशुपालन, आवास, तथा विपद् बीमा जस्ता क्षेत्रलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गर्न नेपाल बीमा प्राधिकरणसँग मुख्यमन्त्री कँडेलले आग्रह गर्नुभयो । 

कर्णाली सरकारले अन्य प्रदेशलाई सिको गर्न सक्ने गरी सामूहिक जोखिम वीमा र निजी घर बिमा जस्ता कार्यक्रम अघि बढाएको उल्लेख गर्दै उहाँले बीमा प्राधिकरणको वार्षिकोत्सवको अवसरमा शुभकामना दिँदै निकट भविष्यमा बीमा सेवा कर्णालीका घर–घरमा पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

उहाँले बीमा कम्पनीप्रति अहिलेपनि जनताको अविश्वास रहेकाले विश्वास बढाउने गरी बीमा कम्पनीहरूले काम गर्न सुझाव दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button