तपाईँ सुन्दै हुनुहुन्छः

संविधान संशोधनका लागि छलफल भइरहेको छः मन्त्री लेखक

विराटनगर । गृहमन्त्री रमेश लेखकले संविधान संशोधनका विषयमा सरकारले आन्तरिक तयारी र छलफल गरिरहेको बताउनु भएको छ । 

नेपाली कांग्रेस मोरङले विराटनगरमा आज आयोजना गरेको पार्टी कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेपाली कांग्रेसका केन्द्रिय सदस्य समेत रहनु भएका मन्त्री लेखकले संविधान संशोधनका लागि नेपाली कांग्रेस र नेकपा एमालेले संयुक्त रुपमा कार्यदल बनाउन प्रक्रिया अघि बढाएको बताउनुभयो । 

संविधानको सबल र दुर्लभ पक्षको विश्लेषण गर्दै सबै दलको सहमतिमा संविधान संशोधन प्रक्रिया अघि बढ्ने उहाँले प्रष्ट पार्नुभयो ।

मन्त्री लेखकले सात बुँदे सहमतिको जगमा बनेको यो सरकार गठन भएपछि मुलुकमा राजनीतिक स्थिरता कायम भएसँगै र पटक पटक सरकार फेरबदल हुने परिपाटी  अन्त्य भएको बताउनुभयो । 

उहाँले विगतमा सरकार गठन हुँदा प्रधानमन्त्रीले तीन तीन महिनामा विश्वासका मत लिनुपर्ने अवस्था रहेकोमा यो सरकार गठन भएको भोली १० महिना पुग्दैछ तर त्यो अवधिमा अहिलेसम्म प्रधानमन्त्रीले एकचोटी पनि विश्वासको मत लिन सदनमा जानु नपरेको बताउनुभयो । 

एक प्रसङ्गमा उहाँले दुईवटा पार्टीको संयुक्त सरकार भएकाले कुनै एकदलले एकलौटी सरकार चलाउने कुरा सम्भव नहुने भएकाले पार्टी कार्यकर्तालाई निराश नभई आशावादी भएर अघि बढ्न आग्रह गर्नुभयो । आम नागरिकमा यो सरकारले केही गरेन भनेर भ्रम फैलाउने कार्य भइरहेको भन्दै त्यस्ता गलत प्रचारलाई काँग्रेसले चिर्न सक्नुपर्नेमा उहाँले जोड दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button