विकास निर्माणका योजनाहरू पुरा गर्ने गरी बजेट आउनुपर्ने विषयमा सरकारको ध्यानाकर्षण
काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा सांसदहरुले विकास निर्माणका योजनाहरू पुरा गर्ने गरी बजेट आउनुपर्ने, संविधानमा लिपिबद्ध भएका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्ने लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
बैठकको विशेष समयमा नेपाली कांग्रेसका सांसद दीपक गिरीले दाङ जिल्लाको टारी गाउँ विमानस्थल निर्माणमा सरकारले बजेट विनियोजन गर्नुपर्ने बताउनुभयो ।
उहाँले सरकारको नीति तथा कार्यक्रममा सधैँ विमानस्थलको स्तरोन्नति गर्ने भनिए पनि काम अगाडि नबढाएको भन्दै अगामी आर्थिक वर्षको बजेटमा विमानस्थलको स्तरोन्नतिको लागि पर्याप्त बजेट विनियोजन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
बैठकमा नेकपा एमालेका सांसद जुली कुमारी महतोले प्रतिनिधिसभाका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनेसँगै स्थायित्वको युग सुरु भएको बताउनुभयो ।
उहाँले आगामी आर्थिक वर्षको बजेट मुलुकको आवश्यकता र आकाङ्क्षा पुरा गर्ने गरी राष्ट्र हितका पक्षमा आउने विश्वास व्यक्त गर्नुभयो ।
नेकपा माओवादी केन्द्रका सांसद रणेन्द्र बराइलीले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा दलित समुदायलाई समावेश नगर्नु दुखद भएको बताउनुभयो ।
उहाँले विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले ८ अर्ब नाफामा पुर्याएको प्राधिकरणको वर्तमान कार्यकारी निर्देशक हितेन्द्रमान शाक्यले श्वेतपत्र जारी गरि पाँच अर्ब घाटामा गएको सार्वजनिक गर्नुले सुशासनमाथि प्रश्न उठेको बताउनुभयो
रास्वपाका सांसद सन्तोष परियारले अझै समाजमा जातीय विभेद हुने गरेको भन्दै नागरिक र राज्यको सम्बन्ध बलियो बनाउन राज्यले कुनै पनि भेदभाव गर्न नहुने विचार व्यक्त गर्दै संविधानमा लिपिबद्ध गरेका जनताका अधिकारलाई कार्यान्वयन गर्ने गरी बजेट ल्याउन सरकारलाई आग्रह गर्नुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद अनिशा नेपालीले राज्यको शक्ति केन्द्रमा सबै नागरिकको समान पहुँच हुनुपर्ने भन्दै संविधानमा भएका व्यवस्था कार्यान्वयनमा सरकार गम्भीर नभएको टिप्पणी गर्नुभयो ।
बैठकमा जनता समाजवादी पार्टीकी सांसद रञ्जुकुमारी झाले सरकारले सप्तरी जिल्लामा स्थापना भएको औद्योगिक क्षेत्रलाई सञ्चालन गर्न नसक्दा त्यहाँका युवाहरू रोजगारी नपाएर विदेश पलायन हुन बाध्य भएकाले तत्काल उक्त औद्योगिक क्षेत्र सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
जनमत पार्टीका सांसद अब्दुल खानले पिछडा वर्ग महासङ्घले विभिन्न माग राखी ५८ दिनदेखि आन्दोलन गर्दै आएको तर सरकारले त्यतातर्फ ध्यान नदिएको भन्दै सम्बन्धित निकायले आन्दोलनरतसँग वार्ता गरी समस्या समाधान गर्न माग गर्नुभयो ।
बैठकको विशेष समयमा सांसदहरु रामप्रकाश चौधरी, रन्जिता श्रेष्ठ, प्रेम सुवाल, चित्र बहादुर केसी, प्रभु शाह, सरस्वती वजिमय, नारायणप्रसाद आचार्य लगायतले धारणा राख्नुभएको थियो ।
बैठकमा आर्थिकवर्ष २०८२/०८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता माथि छलफल सुरु भएको छ ।
प्रतिक्रिया राख्नुहोस्