तपाईँ सुन्दै हुनुहुन्छः

तमानखोला गाउँपालिकाका एकसय सत्र घरमा खानेपानीका धारा जडान

'वर्षौँदेखि खानेपानीको समस्या भोग्दै आएका स्थानीयको घरघरमा धारासहित पानीको सुविधा'

ढोरपाटन (बागलुङ) । यहाँको सबैभन्दा विकट तमानखोला गाउँपालिका–६ नर्जा खानीमा खानेपानी समस्या समाधान भएको छ ।

वर्षौँदेखि खानेपानीको समस्या भोग्दै आएका स्थानीयको घरघरमा धारासहित पानीको सुविधा पुगेको हो । एक गाग्री पानी भर्न घण्टौँ कुर्नु पर्ने समस्या समाधान भएको स्थानीयको भनाइ छ । 

गाउँपालिकाको रु ४० लाख लागतमा गाउँमा ११७ धारा निर्माण भएका छन् । ‘एक घर, एक धारा’ निर्माण भएपछि समस्या समाधान भएको स्थानीय भिमकुमारी छन्त्यालले बताउनुभयो । छन्त्यालले भन्नुभयो, “बिहान सबेरै उठेर धाराबाट पानी ल्याउँदै समय जान्थ्यो, केटाकेटीलाई स्कुल पठाउन सधैँ हतार हुन्थ्यो, अहिले त्यो समयको भने सदुपयोग भएको छ, आँगनमै धारो भएपछि सजिलो भएको छ ।” 

खानेपानी आयोजना सम्पन्न गर्न स्थानीयले जनश्रमदानबापत रु पाँच लाख बराबरको काम गरेको वडाअध्यक्ष चित्रबहादुर छन्त्यालले बताउनुभयो । 

आयोजनाद्वारा नर्जा खानी गाउँका १११ घरधुरीमा धारा जोडिएका छन्भने छ वटा सार्वजनिक स्थानमा धारा निर्माण गरिएको छ । आयोजना सुरु भएको दुई वर्षभित्र  गाउँलेले एक घर एक धारा निर्माण गर्न सफल भएका हुन् । भौगोलिक हिसाबले कठिन रहेको यस क्षेत्रको खानेपानी समस्या समाधानलाई गाउँपालिकाले पहिलो प्रथामिकतामा राखेको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले बताउनुभयो ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button