तपाईँ सुन्दै हुनुहुन्छः

चोरमारा पुल भाँचिएपछि वैकल्पिक मार्गबाट यातायात सञ्चालन

नवलपरासी पूर्व-पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत चोरमारा स्थित पुल भाँचिएपछि अलपत्र परेका सवारी साधनहरू अब वैकल्पिक मार्गबाट आउजाउ गर्न थालेका छन्।

यात्रु र सवारी साधनहरू पूर्वबाट पश्चिमतर्फ जाँदा चोरमारा बजारबाट दक्षिणतर्फ लागी तम्सरिया गाउँ हुँदै खोला तिर, रानिटारबाट फुलबारी अथवा भिउरान हुँदै अरुणखोला पुग्न सक्ने भित्री सडक मार्गलाई वैकल्पिक मार्गको रूपमा प्रयोग भइरहेको छ, उक्त जानकारी पूर्वी नवलपरासीका प्रहरी प्रमुख एसपी यादव ढकालले दिनुभयाे।

एसपी ढकालले रेडियो नेपालसँग कुरा गर्दै भन्नुभयाे, “हल्का सवारी साधनलाई क्रमिक रूपमा राती साढे १२ बजेबाट पठाएका छौँ, तर ठूला मालबाहक सवारी साधनलाई मोड नपुग्ने कारण रोकिएको छ।”

यस परिस्थितिमा यात्रु र सवारी चालकहरूलाई अन्य वैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध गरिएको छ। स्थानीय प्रशासन र ट्राफिक कार्यालयले अस्थायी समाधानको प्रयास गरिरहेको बताइएको छ। यद्यपि, सहज रूपमा सवारी साधनहरू सञ्चालन गर्न सकेको छैन।

२०३१ सालमा निर्माण गरिएको जीर्ण फलामे पुल आइतबार राति करिब १० बजे लच्किएपछि यातायात आवागमन बन्द भएको हो।

महेन्द्र राजमार्ग अन्तर्गत नवलपरासी पूर्वकै दुम्कीवासको फलामे पुल भाँचिएको ४ महिना पछि चोरमारा पुल पनि भाँचिएको हो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button