तपाईँ सुन्दै हुनुहुन्छः

गोरखामा सोमबारदेखि सुरु हुने २२औँ सवा लाख रोट महोत्सवको तयारी पुरा  

गोरखा । गोरखा दरबार परिसरमा रहेको गोरखानाथ मन्दिरमा सोमबार सुरु हुने २२औँ सवा लाख रोट महोत्सवको तयारी पुरा भएको 

महोत्सवको सबै तयारी पुरा भएको सिद्वाश्रम शक्ति केन्द्र नेपालका संयोजक रामजी अर्यालले बताउनुभयो । “महोत्सवमा सहभागी हुन आउने श्रद्धालु भक्तजनहरूको आवास, खाना र रोटका सबै सामाग्रीहरू महोत्सव स्थलमा आइपुगेको छ ।”, उहाँले भन्नुभयो, “आन्तुकहरुको लागि बस्ने आवास र खाना खाने व्यवस्था सबै मिलाएका छौँ । गोरखनाथलाई चढाउने रोटको सबै सामाग्री आई सकेको छ ।”

गुरु गोरखानाथका साथै माता गोरखकालीको मन्दिरलाई सिँगार्ने काम भइरहेको छ । त्यसका अलावा रोट पकाउने ठाउँको व्यवस्था तथा आवश्यक पानीको प्रबन्ध समेत भइसकेको आयोजकले जनाएको छ । 

विगतमा रोट पकाउन पानीको समस्या थियो, अहिले आवश्यक पानीको प्रबन्ध साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले र खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले गरिदिएपछि समस्याको समाधान भएको छ । यसअघि रोट पकाउने ठाउँ र श्रद्धालु भक्तजनहरू धेरै हुने हुँदा पिठो मुछ्ने पानीदेखि पिउने र सरसफाइको लागि समेत पानीको अभाव हुँदै आएको थियो । रोट पकाउनको लागि आवश्यक दाउरा समेत सम्बन्धित स्थानमा पुगिसकेको छ । ‘दाउरा ओसारपसारमा नेपाली सेनाले सघाएको छ । 

सोमबार बिहान ८ः३० बजे गोरखा सदरमुकामको बैङ्क रोडमा रहेका सिद्वाश्रम शक्ति केन्द्रबाट र्‍याली हुने छ । र्‍यालीमा कन्याहरूले कलश लिएर हिँड्ने छन् भने गुरु गोरखनाथको रथ समेत र्‍यालीमा सहभागी हुने छ ।

रोट चामल, गहुँ र जौको पिठोमा मसलाहरू मिसाएर बनाएको एक विशेष परिकार रोट हो । चामल, गहुँ र जौलाई शुद्ध मानी ३२ थरिका मसलाहरू जस्तै नरिवल, काजु, किसमिस, अलौंची, ल्वाङ, सुकुमेल, छोकडा, मरिच, दालचिनी, खुदो, मह, घिउ, चिनी जस्ता मसलाहरू हालेर विशेष विधिद्वारा बनाइन्छ ।

रोट २ प्रकारको हुने गर्दछ । भुङ्ग्रे र ताई रोट । गोलाकार आकृतिको पिठोको मिश्रणलाई पातमा राखेर आगोको भुङ्ग्रो पकाइनेलाई भुङ्ग्रे रोट भनिन्छ । यस्तो रोट सानादेखि ठुला आकारमा पनि तयार गरिन्छ ।

दोस्रो भनेको ताई रोट हो । यो प्रकारको रोटलाई घिउमा तारेर बनाइन्छ । पिठोमा विभिन्न थरीका मसलाहरू हालेर विशेष आकृति अर्थात् पृथ्वीको आकारमा सानो सानो गोलाकार बनाएर बनाउने गरिन्छ । यसको बिच भागमा नाभी अर्थात् ओमकार राख्ने चलन छ । यसरी विशेष विधिका साथ रोटको बिचमा बनाइएको नाभिलाई ‘शिव लिङ्ग’ पनि भनिन्छ । यस्तो नाभी भुङ्ग्रे रोटमा पनि बनाइने प्रचलन छ । भुङ्ग्रे रोटमा बनाइएको नाभीलाई भने ‘सुमेरु’ भन्ने गरिन्छ । 

गोरखामा २०६१ सालदेखि रोट महोत्सव मनाउने गरिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button