कास्की यातायात कार्यालय एक साता पछि मात्र खुल्ने
पोखरा। यातायात व्यवस्था कार्यालय कास्कीले आगामी एक साता पछि मात्र सेवा पुनः सञ्चालन गर्ने भएको छ।
जेनजी आन्दोलनको क्रममा आगजनीबाट कार्यालय भवन सहित कार्यालयका महत्त्वपूर्ण कागजात तथा सामाग्री एवं सवारी साधनहरू जलेर नष्ट भएसँगै कार्यालय व्यवस्थापन गरी एक हप्तामा पुनः सञ्चालनमा ल्याउने तयारी भएको कार्यालय प्रमुख ढाकाप्रसाद शर्माले बताउनु भयो ।

दैनिक ५ सय जना सेवाग्राही आउने उक्त कार्यालयमा आवश्यक पर्ने केही सामाग्रीहरू पनि हाल नभएको अवस्थामा अस्थायी कार्यालय बाहिरको क्यान्टिन सहितको टहराबाट सेवा सुरु गर्ने तयारी गरिएको उहाँले जनाउनु भयो । सोमबार कार्यालयका कर्मचारी सहित स्थानीयको सहयोगमा कार्यालयमा सरसफाइ गरिएको छ ।
कार्यालयमा के कति क्षति पुगेको छ त्यसको विवरण सङ्कलन कार्य समेत जारी रहेको प्रमुख शर्माले जनाउनु भयो । त्यसै गरी यातायात व्यवस्था कार्यालय लाइसेन्स शाखामा भने कर्मचारीहरू के गर्ने के नगर्ने अन्योलको अवस्थामा रहनु भएको छ । जेनजी आन्दोलनको क्रममा जलेको भवन तथा कार्यालयबाट केही डकुमेन्ट सङ्कलन गरिएको छ भने मुचुल्का गरे पछि मात्र सरसफाइ गर्ने भएको एक कर्मचारीले बताउनु भयो ।
यसैबिच, जिल्ला प्रशासन कार्यालय कास्कीमा सरसफाइ गरी हाल आंशिक सेवा सुरु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले बताउनु भयो । मुद्दा दर्ता, शान्ति सुरक्षा तथा विपद् व्यवस्थापन सम्बन्धी अत्यावश्यक सेवा सञ्चालनमा ल्याइएको उहाँले जनाउनु भयो ।
त्यसै गरी आन्तरिक राजश्व कार्यालय पोखराले पनि आइतबार र सोमबार सरसफाइ गरेको छ । आन्दोलनको क्रममा आगजनीबाट भएको क्षतिको विवरण सङ्कलन गर्दै आगामी केही दिनमै सेवा सञ्चालन गर्ने तयारी गरिएको कार्यालय प्रमुख शिव ढुङ्गानाले बताउनु भयो । कार्यालय परिसरमै अस्थायी कार्यालय स्थापना गरेर भए पनि सेवा सञ्चालन गर्ने उहाँले जनाउनु भयो । कास्कीको मालपोत कार्यालयले भने सूचना जारी गर्दै तत्काल सेवा दिन नसकिने जनाएको छ ।
पोखरा महानगरपालिका यही असोज १ गते देखि सञ्चालनमा आउने भएको छ भने केही वडाहरूमा सरसफाइ गरिएको छ ।
प्रतिक्रिया राख्नुहोस्