तपाईँ सुन्दै हुनुहुन्छः

न्यायको पहुँच आमनागरिकसम्म पुर्‍याउँदै न्यायपालिकाको जनआस्था अभिवृद्धि गर्न जरुरी: राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले न्यायको पहुँच आमनागरिकसम्म पुर्‍याउँदै न्यायपालिकाको जनआस्था अभिवृद्धिमा जोड दिनुपर्ने बताउनुभएको छ । 

कानुन दिवसको अवसरमा सर्वोच्च अदालतले शुक्रबार आयोजना गरेको कार्यक्रममा राष्ट्रपति पौडेलले संविधानको मर्म अनुरुप कानुनमा समसामयिक सुधार गर्दै आम नागरिकमा न्यायमा सहज पहुँच पु¥याउनु पर्ने बताउनुभयो । 

राष्ट्रपति पौडेलले नेपालको संविधानले स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका, कानुनी राज्यको अवधारणालगायतका लोकतान्त्रिक मूल्य मान्यताप्रति प्रतिबद्ध प्रणालीको व्यवस्था गरेको स्पष्ट पार्नुभयो । 

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले संविधानले नै स्पष्ट गरेको स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका एवम् कानुनी राज्यको अवधारणा अनुरुप जनताको जनआस्था अभिबृद्धिमा न्यायालय क्रियाशील रहेको बताउनुभयो । 

प्रधानन्यायाधीश राउतले प्रभावकारी न्याय सम्पादनमार्फत आम नागरिकसम्म न्यायको पहुँच पुर्‍याउन योजनाबद्ध ढङ्गबाट अघि बढिरहेको स्पष्ट पार्नुभयो । 

प्रधानन्यायाधीश राउतले  कानुनी शासन, न्यायपूर्ण समाज र विधिको शासनको थालनी भएको दिन बैशाख २६ लाई सर्वोच्च अदालतले कानुन दिवसका रुपमा मनाउँदै आएको स्मरण गराउनुभयो । 

प्रधान न्यायालय ऐन २००८ जारी भएको दिन बैशाख २६ गतेलाई सर्वोच्च अदालतले प्रत्येक बर्ष कानुन दिवसका रुपमा मनाउँदै आएको छ । 

कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्ष, कानुन व्यवसायीलगायतको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button