तपाईँ सुन्दै हुनुहुन्छः

‘अपरेशन सिन्दूर’पछी सिमानाका रक्सौलमा ‘रेड अलर्ट’,भारत प्रबेश गर्न खोज्ने ४ चिनियाँ नागरिक पक्राउ

वीरगंज। भारतले पाकिस्तानमा ‘अपरेशन सिन्दूर’ नामक सैन्य कारबाही गरेपछि नेपाल भारत सिमानाका रक्सौलमा ‘रेड अलर्ट’ जारी गरिएको छ ।

रेड अलर्ट जारी भएसँगै सिमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ । बिहार प्रदेश सरकारले रेड अलर्ट जारी गर्दै सबै प्रहरी इकाइहरूलाई रक्षा बलहरूसँग समन्वय गर्न निर्देशन दिएको छ । राज्यका महत्वपूर्ण स्थानहरूमा सुरक्षा कडा पारिएको छ भने सीमामा समेत कडाइ गरिएको छ ।

नेपाल भारत सिमानाका रक्सौलमा ‘रेड अलर्ट’ जारी भएसंगै कडा सुरक्षा चेकजाचँ शुरुगरिएको छ । सो क्रममा आज रक्सौल नाकाबाट भारत प्रबेश गर्न खोज्ने चारजना चिनियाँ नागरिकलाई भारतिय प्रहरीले सिमाक्षेत्रबाट नियन्त्रणमा लिएको छ । भारतको रक्सौल मैत्री पुल नजिक भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले चार जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिईएका चारै व्यक्तिहरूले बारम्बार आफ्नो बयान परिवर्तन गरिरहेका छन् । हिन्दी, नेपाली, अंग्रेजी तथा चिनियाँ भाषामा संवाद गरिरहेका छन् ।

सुरक्षा स्रोतहरूका अनुसार ती चिनियाँ नागरिकहरू विगत एक हप्तादेखि काठमाडौंमा थिए र भारतमा प्रवेशको प्रयोजन अझै स्पष्ट भएको छैन । सोधपुछका क्रममा उनीहरूले आफ्नो उद्देश्य खुलाउन अस्वीकार गरेका छन् । हाल चारै जनालाई गोप्य स्थानमा राखेर सोधपुछ भइरहेको भारतिय सिमा सुरक्षा बलले जनाएको छ । 

भारतले कश्मिरको पाकिस्तान अधिनस्थक्षेत्रमा चलाएको ‘अपररेशन सिन्दूर’ पछि रक्सौल सीमा क्षेत्रमा रेड अलर्ट जारी गरिएको हो । त्यसैका कारण नेपालबाट भारत प्रवेश गर्ने वा बाहिरिने व्यक्तिहरूको कडाइका साथ चेकजाँच भइरहेको छ । पहिचान पत्रहरूको गहिरो अध्ययन गरी सीमामा अवैध गतिविधि रोक्न विशेष सुरक्षा रणनीति अपनाइएको छ ।

मे ७, २०२५ मा भारतले पाकिस्तान र पाकिस्तान–नियन्त्रित कश्मीरमा हवाई आक्रमण गरेको थियो । यो कारबाही अप्रिल २२ मा पहलगाममा भएको आतंकवादी आक्रमणको प्रतिकारस्वरूप गरिएको हो, जसमा एक नेपालीसहित २६ जनाको मृत्यु भएको थियो ।

यस सैन्य कारबाहीपछि भारत र पाकिस्तान बीचको तनाव उच्च बिन्दुमा पुगेको छ । दुवै राष्ट्रलाई अन्तर्राष्ट्रिय समुदायले संयमता अपनाउन आह्वान गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button