तपाईँ सुन्दै हुनुहुन्छः

नीति तथा कार्यक्रममाथिको छलफल जारी

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल जारी रहेको छ ।

छलफलमा नेपाली कांग्रेसका सांसद एनपी साउदले सरकारले ल्याएको नीति तथा कार्यक्रम कार्यान्वयनमा लैजान चुनौतीपूर्ण रहेको बताउनुभयो । 

सांसद साउदले आर्थिक सुधारको लागि सरकारले केही महत्वपूर्ण कदम चाल्नुपर्ने र बलियोसँग हिँड्नुपर्ने आवश्यकता रहेको औल्याउदै सरकारको नीति तथा कार्यक्रम थप प्रभावकारी बनाएर लैजानुपर्नेमा जोड दिनुभयो । 

नेकपा एमालेका सांसद ईश्वरबहादुर रिजालले नीति तथा कार्यक्रमले नवीनतालाई आत्मसाथ गर्दै विज्ञान र प्रविधिमा जोड दिएको, राष्ट्रिय सहमति र सहकार्यलाई ध्यान दिएर एकताको सन्देश दिने गरी आएका बताउनुभयो । 

उहाँले मुलुकको उपलब्धी रक्षा गर्ने गरी नीति तथा कार्यक्रम आएको भन्दै यसको कार्यान्वयनमा जोड दिनुभयो ।

नेकपा माओवादी केन्द्रका सांसद महिन्द्र राय यादवले नीति तथा कार्यक्रम १६ औँ पञ्चवर्षीय योजनाको मर्म र भावना अनुरुप सुशासन, सामाजिक न्याय र समृद्धिको यात्रालाई अगाडी बढाउने खालको नरहेको बताउनुभयो ।

उहाँले नीति तथा कार्यक्रम कर्मकाण्डी र पुरानै निरन्तरता मात्रै रहेको भन्दै समाजवादको यात्रालाई अगाडी बढाउन सक्नेगरी नीति तथा कार्यक्रम आउनुपर्ने बताउनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले नीति तथा कार्यक्रममा नवीनता र परिवर्तनको अभाव देखिएको, युवापुस्ताको भविष्यप्रति बेखवर रहेको र नवप्रवर्तनको स्पष्ट खाका दिन नसकेको टिप्पणी गर्नुभयो ।

उहाँले नीति तथा कार्यक्रममा समय सापेक्ष नीति निर्माण गरिनुपर्ने, समृद्धि र आर्थिक पुर्नउत्थानका लागि स्पष्ट खाका हुनुपर्ने, उत्पादनमुखी लगानी, स्थानीय उद्योग प्रवद्र्धन, रोजगारी सिर्जना र उद्यमशीलता विकासमा केन्द्रित योजनाहरू आउनुपर्ने बताउनुभयो ।

राप्रपाका सांसद विना लामाले नीति तथा कार्यक्रममा कृषिमा एकिकृत योजना आउन नसकेको, भ्रष्टाचार नियन्त्रणमा लागि प्रभावकारी नीति आउन नसकेको भन्दै कार्यक्रमहरू समावेशी, पारदर्शी र दिगो विकासका लागि सुधार गर्ने खालका हुनुपर्ने सुझाव दिनुभयो ।

सांसदहरूले शिक्षा, स्वास्थ्य, पर्यटन, जलस्रोत, कृषि, सडक पूर्वाधार निर्माण लगायतका क्षेत्रमा बजेट लक्षित गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँहरूले तराइ मधेश लगायत देशका विभिन्न भागमा देखिएको खानेपानी र सिँचाइ समस्या समाधानका लागि बजेटमा विशेष व्यवस्था गरिनुपर्ने, उत्पादन उत्पादकत्व र रोजगारी सिर्जना गर्ने खालका कार्यक्रम ल्याएर त्यसको कार्यान्वयनमा ध्यान दिनुपर्ने  बताउनुभयो ।

सांसदहरु कृष्णकुमार श्रेष्ठ, विरेन्द्र प्रसाद महतो, रेखा यादव, दिलेन्द्र प्रसाद बडू, लालप्रसाद साँवा लिम्बु, गंगा कार्की, रामकृष्ण यादव, एकनाथ ढकाल, हृदयराम थानी, हेमराज राई लगायतकाले नीति तथा कार्यक्रममाथिको छलफलमा धारणा राख्नुभएको थियो 

बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि धारणा राख्नेक्रम जारी रहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button