प्रतिनिधिसभा बैठक: समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

तुलसी र सरिता
काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरुले देशमा रोजगारीको सिर्जना गर्ने, सुशासन कायम गर्ने, भ्रष्टाचार र कालोबजारी न्यनिकरण गर्नेलगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
सांसदहरुले देशमा बेरोजगारीको समस्या बढेको, राष्ट्र बैङ्क गभर्नर विहीन र दिशा विहीन बनाइएको, सरकारका भागबन्डाको खेलमा लागेको आरोप लगाउँदै गभर्नरको नियुक्ति भागबन्डामा नगरी योग्यताको आधारमा निष्पक्ष रुपमा गर्न माग गर्नुभयो ।
सांसदहरूले नाफामा गइरहेको विद्युत् प्राधिकरण घाटामा रहेको समाचार आइरहेको र विद्युत् प्राधिकरणमा समस्या उत्पन्न गराएर निजीकरण गर्न खोजिएको होकी भन्ने आशङ्का सांसदहरुले व्यक्त गर्नुभयो ।
सांसदहरुले प्रि मनसुन शुरु भइसकेको र यस वर्ष अत्यधिक वर्षा हुने पूर्वानुमान रहेको भन्दै विपद र जोखिम न्युनिकरणका लागि पूर्व तयारीको काम समयमा नै गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
उहाँहरूले राजधानी जोड्ने मुख्य सडक लगायतका देशभरका सडकको मर्मत, नदिमा तटबन्धको निर्माण, आपतकालिन पूर्वाधारको निर्माण गर्न र जनधनको क्षति कम गर्ने गरी समयमा नै गम्भीर बन्नुपर्ने बताउनुभयो ।
सांसदहरुले आयातित अर्वाै मूल्य बरावरको तरकारी तथा फलफूलको विषादी परिक्षण नहुने गरेको, उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड भइरहेको भन्दै आयातित कृषि उपजको परीक्षण गरेर मात्रै भित्र्याउन माग गर्नुभयो ।
सांसदहरुले शिक्षकसँग भएको सम्झौता भएअनुसार ऐन बनाउन, र असन्तुष्ट शिक्षकहरूको समेत सम्बोधन हुनेगरी काम गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसदहरु सञ्जयकुमार गौतम, अच्युतप्रसाद मैनाली, रुपा शोसी चौधरी, चन्दा कार्की भण्डारी, विक्रम पाण्डे, शेरबहादुर कुवर, रञ्जु कुमारी झा, अब्दुल खाँन, रेखा यादव, सर्वेन्द्रनाथ शुक्ला, प्रेम सुवाल, प्रभु शाह, डा. अमरेशकुमार सिंह, रमा कोइराला पौडेल, हरिप्रसाद उप्रेती लगायतले धारणा राख्नुभएको थियो ।
बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल जारी रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्