तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रियसभा बैठक: सरकारको नीति तथा कार्यक्रममाथि छलफल जारी 

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रममाथि छलफल जारी छ ।

छलफलमा सांसदहरुले शिक्षा नीतिलाई आर्थिक विकास र समृद्धिसँग जोड्न आवश्यक रहेको बताउनुभएको छ ।  

सरकारले समयसापेक्ष शिक्षा नीति लिनुपर्नेमा जोड दिँदै सांसदहरुले युवा उच्च शिक्षाका लागि विदेश जाने परिदृश्यलाई पडाउँदै कमाउँदै जस्ता नीतिले सकारात्मक प्रभाव ल्याउने विश्वास समेत व्यक्त गर्नुभयो ।

बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिनुहुँदै नेकपा एमालेका मुख्य सचेतक भगवती न्यौपानेले सरकारद्वारा प्रस्तुत आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रमले विकासको संस्कृति बदल्ने सङ्कल्प लिएको बताउनुभएको छ ।

सांसद न्यौपानेले प्रस्तुत नीति कार्यक्रम विगतका भन्दा वैज्ञानिक, यथार्थ धरातलमा टेकेको र सान्दर्भिक रहेकाले विरोध गर्नुपर्ने कारण नरहेको बताउनुभयो।

यसअघिका नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठाएका विषयलाई सम्बोधन हुनेगरी नीति कार्यक्रम आएको उहाँको भनाइ छ । 

छलफलमा माओवादी केन्द्रका सांसद उर्मिला अर्यालले विगतका राम्रा कार्यक्रम हटाएर ल्याइएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले जनअपेक्षा सम्बोधन गर्न नसक्ने बताउनुभएको छ ।     

सांसद अर्यालले राष्ट्रिय गौरवका आयोजना, गाँजाको व्यावसायिक प्रयोग, विदेशबाट फर्केकालाई उद्यमसँग जोड्ने, सुकुम्वासी समस्या समाधानलगायत नीति तथा कार्यक्रममा समेट्न सरकारसँग माग गर्नुभयो ।     

प्रतिक्रिया राख्नुहोस्

Back to top button