तपाईँ सुन्दै हुनुहुन्छः

भारतको बाटो हुँदै ‘कुञ्चा’ सरे ब्याँसी सौका समुदाय

दार्चुला ।दार्चुलाको सुदूर हिमाली क्षेत्र ब्याँस गाउँपालिकामा बसोबास गर्ने सौका समुदाय गर्मी सुरु भएसँगै ‘कुञ्चा’ सर्ने क्रममा भारतकै बाटो प्रयोग गर्दै गाउँ फर्किएका छन्।

छाङरु र टिंकर गाउँमा बसोबास गर्दै आएका ब्याँसी सौका समुदायका ७५ घरधुरी छाङरुबाट र ३५ घरधुरी टिंकरबाट बसाइँ सरेका हुन्। शीतकालमा बाक्लो हिमपात हुने भएकाले उनीहरू प्रत्येक वर्षको मंसिरमा सदरमुकाम खलङ्गा झर्ने र वैशाख–जेठमा फर्कने गर्दछन्।

वडा नं. १ का अध्यक्ष अशोक सिंह बोहराका अनुसार, नेपालतर्फ बाटो नहुँदा उनीहरू भारतको बाटो हुँदै ५ दिनको यात्रा तय गरेर छाङरु पुग्छन् भने टिंकर पुग्न ६ दिन लाग्छ। खलङ्गाबाट दोभार, किम्तोला, नज्याङ, गुदी हुँदै छाङरु पुग्ने यो मार्गमा भारतीय प्रशासनको अनुमति लिएर यात्रा गर्नुपर्ने बाध्यता रहेको छ।

ब्याँसी समुदायको गुनासो छ – भारतको बाटो प्रयोग गर्दा भारतीय सुरक्षाकर्मीबाट दुर्व्यवहार र प्रशासनिक झन्झट झेल्नुपर्छ। नेपाल सरकारले यस वर्ष माघ १४ गते ब्याँससम्म पुग्ने घोडेटो बाटो निर्माणका लागि ५ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरिसकेको छ। तर प्रक्रियागत ढिलाइका कारण यो वर्ष पनि भारतकै बाटो प्रयोग गर्न बाध्य भएको अध्यक्ष बोहराले जानकारी दिनुभयाे।

उहाँले भन्नुभयाे, “आगामी वर्षको कुञ्जा नेपालकै बाटो भएर सर्न पाओस् भन्ने हाम्रो चाहना छ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button