प्रश्नपत्र बाहिरिएको सूचना भ्रामक: राष्ट्रिय परीक्षा बोर्ड

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले कक्षा १२ को परीक्षा शुरु हुनु अगावै प्रश्नपत्र नबाहिरिएको जनाएको छ ।
बोर्डले आज एक विज्ञप्ति जारी गर्दै प्रश्नपत्र बाहिरिएको सूचना भ्रामक रहेको बताउँदै पुराना र प्रयोग भइसकेका प्रश्नपत्र राखेर भ्रम सिर्जना गरिएको दाबी गरेको छ ।
आजबाट शुरु भएको कक्षा १२ को वार्षिक परीक्षामा अनिवार्य अङ्ग्रेजी विषयको प्रश्नपत्र परीक्षा शुरु हुन अगावै भक्तपुरको गुण्डुस्थित काठमाडौँ वर्ल्ड स्कुलको विद्यार्थीको मोबाइलमा पठाइएको सूचना सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
त्यसपछि जिल्ला परीक्षा समन्वय समिति, भक्तपुर पदाधिकारी एवम् जिल्ला प्रशासन कार्यालय र बोर्डबाट खटिएका कर्मचारीहरूद्वारा गरिएको छानबिनमा उक्त सूचना गलत पाइएको बोर्डको भनाइ छ ।
सम्बन्धित परीक्षा केन्द्रमा गई छानबिन गर्दा उक्त सूचना भ्रामक र गलत भएको पाइएको बताउँदै परीक्षाजस्तो संवेदनशील विषयमा भ्रम सिर्जना गर्ने उपर आवश्यक कानूनी कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको जारी विज्ञप्तिमा उल्लेख छ ।
संवेदनशील विषयमा गलत सूचना सम्प्रेषण गरी विद्यार्थीको मनोभावनामा चोट पुर्याउने काम नगर्न र विषयवस्तुको आधिकारिता पुष्टि नगरी सञ्जालमा नराख्न पनि सचेत गराइएको छ ।
यस अघि प्रश्नपत्र परीक्षा अगाडि नै सार्वजनिक भएको हल्ला भएपछि जिल्ला प्रशासन कार्यालय भक्तपुरले यसबारेमा अनुसन्धान थालेको थियो ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गोपालप्रसाद अर्याल, जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी माधव बुढाथोकी लगायतको टोली प्रश्नपत्र बाहिरिएको भनिएको स्थान चाणक्य कलेज शंखधर चोक मध्यपुर थिमि पुगेर सोधपुछ गर्नु भएको थियो ।
यता काठमाडौँ वर्ल्ड स्कुलले परीक्षा अगावै प्रश्नपत्र आउट नभएको स्पष्ट पारेको छ । स्कुलले आज प्रेस विज्ञप्ति प्रकाशित गरी परीक्षा अगावै सार्वजनिक भएको भनेको घटना सत्य नभएको स्पष्ट पारेको हो ।
प्रतिक्रिया राख्नुहोस्