तपाईँ सुन्दै हुनुहुन्छः

अनुशासनहीन गतिविधि गर्ने खेलाडी र प्रशिक्षकलाई २ वर्षको प्रतिबन्ध

धनकुटा । जिल्ला भलिबल संघ धनकुटाले खेलका क्रममा अनुशासनहीन गतिविधि गर्ने महालक्ष्मी नगरपालिका–का ३ जना खेलाडी र प्रशिक्षकमाथि २ वर्ष प्रतिबन्ध लगाएको छ । 

जिल्ला भलिबल सङ्घले आयोजना गरेको पालिका स्तरीय महिला भलिबल तथा वडा स्तरीय पुरुष भलिबल प्रतियोगितामा गत वैशाख १८ गते भएको खेलमा महालक्ष्मी नगरपालिका–३ का खेलाडी र प्रशिक्षकले अनुशासनहीन गतिविधि गरेको भन्दै प्रतिबन्ध लगाएको हो । प्रतिबन्धमा परेका खेलाडीहरूमा सन्तोष निरौला, नरेन्द्रजंग थापा र सुजन तामाङ रहेका छन् । यस्तै सोही टिमका प्रशिक्षक सुजन पौडेललाई पनि प्रतिबन्ध गरेको भलिबल संघ धनकुटाले जनाएको छ ।

प्रतिबन्धमा परेका खेलाडीहरूले बैशाख १८ गते खेल मैदानमा नाराबाजीका साथ खेल रोक्ने अप्रत्याशित व्यवहार देखाएपछि उक्त खेल रोकिएर वैशाख १९ गते गर्नुपरेको भलिबल संघ धनकुटाका अध्यक्ष गौरव कार्कीले जानकारी दिनुभयो ।

उनीहरुलाई आगामी २ वर्षसम्म धनकुटामा हुने जिल्ला, पालिका, वडा तथा विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत भलिबल खेलमा सहभागी हुन प्रतिबन्ध लगाउने निर्णय गरिएको छ ।  प्रतिबन्धमा परेका खेलाडीको बारेमा जिल्ला खेलकुद विकास समिति धनकुटा र कोशी प्रदेश भलिबल सङ्घलाई पनि जानकारी गराइएको भलिबल संघ धनकुटाले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button