तपाईँ सुन्दै हुनुहुन्छः

असली मजदुरलाई थाहा छैन मजदुर दिवस

बाँके । नेपालगन्जको सडकमा लामो जुलुस थियो । जुलुसका सबैले श्रमिकका हक अधिकारको बारेमा नारा जुलुस लगाइरहेका थिए ।

राजनीतिक दलका भातृ सङ्गठनहरू तथा अन्य सरकारी/गैरसरकारी निकायहरूका प्रतिनिधिहरूले खुब नारा घन्काइरहेका थिए तर त्यो छेउमै श्रमिकहरू दैनिकी जस्तै काम कामको खोजीमा थिए । उनीहरुलाई दिनभर काम गरेर बेलुका छाक टार्न बाहेक अन्य विकल्प नै छैन । दिनभर काम गरेर मात्र बेलुका उनीहरुलाई खाना खाने गुजारा हुने गरेको छ ।

नेपालगन्जमा मजदुरको रुपमा काम गर्दै श्रमिकहरूले आफ्नै छेउमा नारा घन्काइरहँदा पनि छोएन उनको कामलाई श्रमिक दिवसको नाराले कुनै असर नगरेको बताए । मजदुरहरूले भने विश्वास त्यसैमा छ की दिनभर काम गरेर मात्र खानलाई भ्याउँछ भनेर ।

काम नगरेको दिनमा उनको हातमा पैसा हुँदैन, पैसा नभए भोकै बस्नुपर्छ । नेपालगन्जका मजिदले भन्नुभयो, ‘आजको दिनमा काम नगरे भने ज्याला कसैले दिँदैन। भन्न त मालिकले भन्नु भएको हो आज तेरो बिदा हो भनेर तर मलाई आज बिदा हुँदा बेलुका बालबालिका भोकै बस्छन् भनेर काम गरेको हुँ।’

नेपालगन्जको रानीतलाउनको दक्षिण पट्टी, सडकभरि सयौँको सङ्ख्यामा मान्छेको भीड । एकाबिहानै भीडमा हराउँछ रानी तलाउको एरिया । पहिलो पटक त्यो भीड देख्नेहरू अचम्ममा पर्छन् । न यहाँ कुनै सभा सम्मेलन, न त कुनै आन्दोलन नै हुन्छ । यहाँ त केवल कामको खोजीमा जम्मा हुनेको भीड हुन्छ । त्यही भीडभित्र श्रमका बारेमा सोधिखोजी चलिरहेको हुन्छ ।

विभिन्न ठाउँबाट कामको खोजीमा जम्मा हुने मजदुरहरूको भीडमा ठेकेदारहरूसँग श्रमका बारेमा मोलमोलाई भइरहेका दृश्य देखिन्छन् । एकाबिहानैदेखि खाना बोकेर पुगेका मजदुरहरू आ–आफ्नै धुनमा ठेकेदारसँग मोलमोलाई गरिरहेका हुन्छन् । काम खोज्दै रानी तलाउ पुग्ने मजदुरहरू हरेक दिन फरक फरक ठेकेदारसँग काम गर्न जाने गर्छन् ।

धेरै पहिलेदेखि नेपालगन्जको रानी तलाउ विभिन्न व्यक्तिहरूका लागि कामको खोजी गर्ने र काम गर्न जाने माध्यम बन्दै आएको छ । रानी तलाउन राडे सडकैभरि बिहानैदेखि कामदारहरूको भीड लागेको हुन्छ । सडकमा आवतजावतसम्म गर्न नसकिने गरी जताततै मजदुरहरू कामको आशमा उभिएको देखिन्छन् । कतिपय मजदुरहरू पसलको सटरमा आड लागेर बसेको देखिन्छ ।

बिहान पसलहरू नखुल्ने बेलासम्म सडकको पेटी र सटरको आडको प्रयोग गरिरहेका मजदुरहरू पसल खुलेपछि भाग्नुपर्छ । बर्दिया घर भएकी अस्मितो थारुले भन्नुभयो,कहिलेकाहीँ मात्र काम पाउने गरे पनि ठेकेदार सँग काम गरेको दिन भने जतिको पैसा नपाउने गरेको सुनाउनु भयो ।

यस्तै अर्का मजदुर मजिदले आफ्नो ५ वटा बच्चाहरूका लागि मजदुरी गर्न आउने गरे पनि भने जति ज्याला नपाउने गरेको दुखेसो सुनाए ।

बर्दियाको मैनापोखर घर भई नेपालगन्जमा भाडामा बस्दै आएकी अनिता थारुले भन्नुभयो, महिनाभर १०–१५ दिनमात्रै काम पाउने गरेको बताउनु भयो । राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन बाँकेका अध्यक्ष भरत बर्तौलाले भन्नुभयो,सरकारले मजदुरको समस्या प्रति गम्भीर हुन जरुरी रहेको बताउँदै उहाँले मजदुरलाई ठग्ने, दुख दिने ठेकेदारहरू माथि कारबाही गर्न जरुरी रहेको जिकिर गर्नु भएको थियो ।

नेपालगन्ज उपमहानगरपालिकाले मजदुरहरूको व्यवस्थापनका लागि योजना बनाएको बताउनु भयो । समस्या समाधानका लागि योजना बनाएको बताउँदै नगरका उपप्रमुख कमरुद्दीन राईले भन्नुभयो, ‘मजदुरहरूलाई रामलिला मैदानमा व्यवस्थापन गरिएको बताउँदै उहाँले मजदुरहरूका लागि खानेपानीको समेत व्यवस्था गरिरहेको बताउनु भयो । मजदुरहरूको समस्या समाधानका लागि आगामी दिनमा ठोस योजना बनाउँछौँ ।’

नेपालको संविधानमा श्रमसम्बन्धी हकलाई मौलिक हकको रूपमा व्यवस्था गरिएको छ । श्रमिकलाई उचित श्रम अभ्यासको हकसहित आफ्नो हितरक्षाका निमित्त ट्रेड युनियन खोल्ने, सङ्गठित हुने र सामूहिक सौदाबाजी गर्ने हकलाई प्रत्याभूत गरिएको छ ।

श्रमजीवी वर्ग राज्यको बहुआयामिक विकासका आधारसमेत रहेकोले श्रमजीवी वर्गको हकहित र अधिकारको सुनिश्चितता नभएसम्म समानता, स्वाभिमान, सामाजिक न्याय र समृद्धि सम्भव नहुने निश्चित छ । युवा एवम् बौद्धिक जनशक्तिको पलायन रोक्न स्वदेशमा रोजगारीको पर्याप्त अवसर उपलब्ध गराई उनीहरूको ज्ञान, सीप र ऊर्जा देश विकासमा लगाउन सके देश समृद्ध बन्ने थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button