कृषकको उत्पादनमा सारथी बन्दै ऐरावती गाउँपालिका
अर्घाखाँची । ऐरावती गाउँपालिका वार्ड नं.१ कि आस्था आचार्यको बारीमा लटरम्म तरकारी फलेका छन् । तरकारी खेतीबाटै उहाँले वर्षमा २ लाख सम्म आम्दानी गर्दै आउनुभएको छ । यतिवेला उहाँको खेत बारीमा काँक्रा, करेला, टमाटर, घिरौला, बोडी लगाएतका हरिया तरकारी प्रशस्त पाउन सकिन्छ ।

तरकारी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि आचार्य परिवार उत्पादन र बजारीकरणमा व्यस्त छ । उत्पादित तरकारी स्थानीय बजारसँगै अर्घाखाँचीको अमराई बजारमा पुर्याउने गरिएको आस्थाका श्रीमान् टिकाराम आचार्यले बताउनुभयो ।
काक्रा, करेला, घिरौला जस्ता तरकारी प्रति किलो १ सय ५० सम्ममा स्थानीय तथा अमराई बजारमा बिक्री भइरहेको उहाँको भनाइ छ ।

आचार्य परिवार मात्र होइन ऐरावती गाउँपालिका वार्ड नं.१ डाब्र माझिदमारका अधिकांश कृषक अहिले व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित भएका छन् । समथर भूभाग, सिँचाइको राम्रो व्यवस्था, बजारको सम्भावना भएका कारण पनि तरकारी खेतीतर्फ कृषकको आकर्षण बढ्दै गएको वार्ड नं.१ का अध्यक्ष अमर रेग्मीले बताउनुभयो ।
डाब्र माझिदमार क्षेत्रका कृषकको चाहाना र सम्भावनालाई मध्यनजर गरी झिमरुक स्वावलम्बी महिला कृषक समूह निर्माण गरी सो क्षेत्रमा व्यावसायिक तरकारी खेती उत्पादन गर्न समूहलाई प्रेरित गरिएसँगै कृषकहरू तरकारी उत्पादनमा सक्रिय बन्दै आएका हुन् ।

३० जना सदस्य रहेको समूहका सबै सदस्यले व्यावसायिक रूपमै तरकारी उत्पादन गरेको समूह अध्यक्ष मञ्जु सुवेदीले बताउनुभयो । ऐरावती गाउँपालिका, हेफर प्रोजेक्ट नेपालको सहयोगमा मल्लरानी ग्रामीण विकास सरोकार केन्द्रद्वारा सञ्चालित परियोजना मार्फत विउपल, टनेल, प्राविधिक ज्ञान तथा निरन्तर सहयोग पाएका कारण आफूहरू व्यावसायिक बन्न थालेको अध्यक्ष सुवेदीको भनाई छ ।
गाउँपालिकाले सञ्चालन गरेको परियोजना र त्यसबाट कृषकमा परेको प्रभावको अध्ययन गर्दै किसानलाई बारीमै गएर सल्लाह सुझाव तथा हौसला प्रदान गर्ने उद्देश्यले परियोजना क्षेत्र अवलोकन गर्ने क्रममा शनिवार जनप्रतिनिधिसँगै विषयगत शाखा प्रमुख सहितको टोलीले सो क्षेत्रमा अवलोकन समेत गरेको हो । अवलोकनका क्रममा तरकारी बालीमा देखिएका समस्या तथा आगामी योजनाका बारेमा सम्बन्धित शाखाबाट सल्लाह सुझाव समेत प्रदान गरिएको गाउँपालिका उपाध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले जानकारी गराउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्