तपाईँ सुन्दै हुनुहुन्छः

श्रमिकका अधिकार सुनिश्चित गर्ने मन्त्री भण्डारीको प्रतिबद्धता

काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले आन्तरिक तथा वैदेशिक रोजगारीमा रहेका श्रमिकको अधिकार सुनिश्चिताका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले सबै श्रमजीवी तथा रोजगारदातालाई एकजुट भई श्रमिक अधिकारको संरक्षण, सामाजिक न्याय र समावेशी समृद्धिको दिशामा अघि बढ्न आह्वान गर्नुभएको छ ।

मुलुकको दीर्घकालीन समृद्धि र सामाजिक प्रगतिमा श्रमिकको अमूल्य भूमिका हुने चर्चा गर्दै मन्त्री भण्डारीले श्रम ऐन, वैदेशिक रोजगार ऐन लगायत श्रमसँग सम्वन्धित कानून तथा नीति सुधारका काम प्रारम्भ भएका सन्देशमा उल्लेख गर्नुभएको छ ।

सन्देशमा श्रममन्त्रीले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली श्रमजीवी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दै श्रम अधिकार सुनिश्चितताको कामना पनि गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button