‘समयमा कानुन बनाउन नसक्दा प्रदेश र स्थानीय तहमा काम गर्न समस्या’

उदयपुर । कोशी प्रदेशसभाका उपसभामुख सृजना दनुवारले समयमा कानुन निर्माण नहुँदा प्रदेश र स्थानीय तहमा काम गर्न समस्या भएको बताउनुभएको छ ।
उदयपुर जिल्लाको रौतामाई गाउँपालिकामा कोशी प्रदेश सचिवालयले आज आयोजना गरेको ‘स्थानीय तहमा कानुन निर्माण प्रक्रिया र कार्यान्वयनको अवस्था’, विषयक अन्तरक्रिया कार्यक्रममा उपसभामुख दनुवारले संघीय कानुन नहुँदा प्रदेश सरकार र स्थानीय तहले समेत आफ्ना नीतिहरू र कानुनहरु निर्माण गर्न नसको भन्नुहुँदै यसले प्रदेश सरकार र स्थानीय सरकारलाई काम गर्न धेरै समस्या भएको आफूले महशुस गरेको बताउनुभयो ।
रौतामाई गाउँपालिकाका अध्यक्ष वीरेन्द्रकुमार मगरको अध्यक्षतामा भएको कार्यक्रममा पालिका उपप्रमुख, प्रदेशसभा सचिवालयका सदस्यहरु, महाशाखा र शाखाका प्रमुखहरू, गाउँपालिकाका वडा अध्यक्षहरू, विधायन समितिका पदाधिकारी तथा सदस्य र कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा कोशी प्रदेशसभाका कानुन महाशाखा प्रमुख डिल्ली आचार्यले प्रदेशसभाबाट पास भएका कानुनहरु र कानुन बन्ने प्रक्रिया लगायतका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा रौतामाई गाउँपालिकाका प्रमुख र प्रशासकीय अधिकृतले पालिकाले अहिलेसम्म बनाएका कानुन र कार्यान्वयनको अवस्थाबारे जानकारी गराउनुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्