‘रासस फोटो किताब: गणतन्त्रका पक्षमा महत्वपूर्ण दस्ताबेज’

काठमाडौँ । सभामुख देवराज घिमिरेले गणतन्त्र स्थापना भएपछि केही पनि भएन भन्नेहरूका लागि ‘रासस फोटो किताब’ गतिलो जवाफ भएको बताउनुभएको छ ।
राष्ट्रिय समाचार समिति (रासस)द्वारा प्रकाशित ‘रासस फोटो किताब: गणतन्त्रको १६ वर्ष’ ग्रहण गर्दै सभामुख घिमिरेले गणतन्त्र स्थापनापछि उल्लेखनीय कामहरू भए पनि प्रचारप्रसारतर्फ ध्यान दिन नसक्दा अहिले गणतन्त्र विरोधी पक्ष सलबलाइरहेको अवस्थामा प्रकाशित पुस्तक अत्यन्त सान्दर्भिक एवं उपयोगी भएको बताउनुभयो ।
गणतन्त्र दिवसका उपलक्ष्यमा यसअघि राससमा आयोजित तस्बिर प्रदर्शनीमा आफू सहभागी भएको स्मरण गर्दै सभामुख घिमिरेले भन्नुभयो, “विद्यमान अवस्थामा गणतन्त्रका पक्षमा प्रकाशित रासस तस्बिर पुस्तक अत्यन्त उपयोगी छ, यसको स्वदेश तथा विदेशमा समेत व्यापकरुपमा प्रचारप्रसार गरिनुपर्दछ । सदैव सत्यतथ्य एवं आधिकारिक समाचार सामग्री सम्प्रेषणमा जुटिरहेको रासस यस किसिमको रचनात्मक काम गर्न सफल भएकामा धन्यवादसहित सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।”
सो अवसरमा राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले गणतन्त्र दिवसका उपलक्ष्यमा मुलुकको ‘कला–संस्कृति’ र ‘विकास तथा पूर्वाधार’ शीर्षकमा दुई वर्ष प्रदर्शित तस्बिरहरू समेटेर फोटो पुस्तक प्रकाशित गरेको जानकारी गराउनुभयो ।
गणतन्त्र स्थापनापछिका १६ वर्षमा भएका प्रगति र उपलब्धिलाई तस्बिरमा प्रस्तुत गरिएको जानकारी दिँदै कार्यकारी अध्यक्ष झाले देशमा केही पनि भएको छैन भन्ने भाष्य सिर्जना गर्न खोजिएको विद्यमान अवस्थामा प्रकाशित पुस्तकले सकारात्मक सन्देश दिने विश्वास व्यक्त गर्नुभयो ।
पुस्तकमा नेपाली र अङ्ग्रेजी भाषामा समेत तस्बिरको चिनारी ‘क्याप्सन’ लेखिएको बताउँदै उहाँले भन्नुभयो, “स्रोत साधनको अभावमा थोरै प्रति पुस्तक प्रकाशित गरिएको छ, स्वदेश तथा विदेशमा समेत यसको व्यापक प्रचारप्रसार हुनसके देशलाई फाइदै हुुन्छ । जताततैबाट पुस्तकको माग भइरहेको छ, तर हामीसँग सीमित प्रति छ । यस्तो अवस्थामा थप तस्बिर पुस्तक छाप्नुपर्ने देखिएकाले सहयोगका लागि अनुरोध गर्दछु ।’
उक्त पुस्तकमा देशका सबै जातजाति, भाषाभाषी, भूगोल, धर्म, संस्कृति र पूर्वाधार निर्माणका क्षेत्रमा भइरहेका गतिविधिलाई समेटेर ९० फोटो पत्रकारले खिचेका १८२ वटा तस्बिर समावेश छन् ।
पुस्तक हस्तान्तरण कार्यक्रममा राससका महाप्रबन्धक सिद्धराज राई, नायब महाप्रबन्धक एवं समाचार महाशाखा प्रमुख सोमनाथ लामिछाने, प्रधान सम्पादक उत्तम सिल्वाल, आलेख तथा लेख रचना प्रमुख कृष्ण अधिकारी, प्रशासन प्रमुख शीतल प्रसाद महतो र प्रमुख लेखा अधिकृत रुद्रमणि अधिकारीको उपस्थिति थियो ।
यसअघि रासस तस्बिर पुस्तक राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांगेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी (केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्व राष्ट्रपति डा रामवरण यादव, सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङलगायतका विशिष्ट पदाधिकारी एवं नेतागणलाई हस्तान्तरण गरिएको छ ।
प्रतिक्रिया राख्नुहोस्