तपाईँ सुन्दै हुनुहुन्छः

शिक्षक आन्दोलनले पढाई नहुँदा साँढे ६ करोडका पाठ्यपुस्तक थुप्रियो 

चितवन । सामुदायिक विद्यालयका शिक्षकहरूको आन्दोलनका कारण साढे ६ करोडको पाठ्यपुस्तक थुप्रिएको छ । 

जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय भरतपुरमा शिक्षकहरूको आन्दोलनले पाठ्यपुस्तक बिक्री नहुँदा साढे छ करोडको पाठ्यपुस्तक मौज्दात रहेको हो  ।

शिक्षकहरूको आन्दोलनका कारण चितवनमा यतिबेला सामुदायिक विद्यालयहरू खुलेका छैनन् । ती  विद्यालयहरूमा हालसम्म पनि पठनपाठन शुरु नहुँदा विद्यार्थी तथा अभिभावक अन्योलमा छन् । आन्दोलनमा नगएका शिक्षकहरू विद्यालयमा पुगेर हाजिरी गराउँदै घर फर्किरहेका छन् । संस्थागत विद्यालयमा धमाधम पढाइ हुँदा सामुदायिक विद्यालयका विद्यार्थीहरू पढ्न जान पाएका छैनन् ।

सामुदायिक विद्यालय नचलेका कारण विद्यार्थीहरूले पाठ्यपुस्तक खरिद गरेका छैनन्, जसका कारण पाठ्यपुस्तक मौज्दात रहेको कार्यालयका प्रमुख धनबहादुर केसीले जानकारी दिनुभयो । उहाँका अनुसार यस शैक्षिक सत्रका लागि हालसम्म करिब १५ करोडको पुस्तक मात्रै बिक्री भएको छ ।

“२३ करोडको पाठ्यपुस्तक बिक्री हुनुपर्ने हो, सामुदायिक विद्यालय बन्द हुँदा पाठ्यपुस्तक बिक्री घटेको हो”, प्रमुख केसीले भन्नुभयो, “पठनपाठन हुन सकेको छैन, विद्यालय जहिले खुल्छ त्यतिबेला पाठ्यपुस्तक किनौँला भनेर अभिभावक बसेका छन् ।”

चितवनका सातै स्थानीय तहले पुस्तक खरिदका लागि विद्यालयहरूको खातामा रकम जम्मा गरिसकेका छन्, तर पनि शिक्षकको आन्दोलनका कारण पाठ्यपुस्तक बिक्री भएको छैन । संस्थागत विद्यालयका पाठ्यपुस्तक बिक्री भएर पठनपाठन सुरु भएको तर सामुदायिक विद्यालय चल्न नसकेको अवस्थाले अभिभावक पनि पुस्तक खरिद गर्नतर्फ चासो दिएका छैनन् ।

सामुदायिक विद्यालयका शिक्षकहरू विद्यालय नै बन्द गरेर राजधानी केन्द्रित आन्दोलनमा जाँदा विद्यार्थीहरू घरमै बसेर समय बिताउन बाध्य भएका छन् । 

शिक्षा विकास तथा समन्वय इकाइ भरतपुरका प्रमुख लक्ष्मण देवकोटाले शिक्षकहरूको आन्दोलनले चितवनका सामुदायिक विद्यालय खुल्न नसकेको बताउनुभयो  । उहाँले भन्नुभयो, “समाधान छिटो होस् भन्ने चाहना हाम्रो पनि छ, सरकार समस्या सुल्झाउनतर्फ लागोस् ।”

उहाँका अनुसार चितवनका ३४६ सामुदायिक विद्यालयमा पढाइ भएको छैन । चितवनमा १ देखि ५ सम्मका १७७, १ देखि ८ सम्मका ६६, १ देखि १० सम्मका ५४ र १ देखि १२ सम्मका ४९ विद्यालयमा पठनपाठन सञ्चालन हुन सकेको छैन ।

शिक्षा विधेयक पारित गर्नुपर्नेलगायतका दर्जनौँ माग राखेर शिक्षकहरू राजधानी केन्द्रित आन्दोलनमा रहेका बेला स्थानीय तहले शिक्षकहरूलाई स्कुल फर्कन अनुरोध गरे पनि  । तर, शिक्षकहरू आफ्नो माग पुरा नभएसम्म आन्दोलन जारी अडान लिँदै आएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button