बजेट अभावमा (बिटुले–पारीबगड)सडक चार किलोमिटर मात्रै कालोपत्रे
दार्चुला । दार्चुलामा निर्वाचन क्षेत्र रणनीतिक सडक (बिटुले–पारीबगड) कालोपत्रे गरिएको छ ।

मार्मा गाउँपालिकामा रहेको बिटुले–पारीबगड सडकखण्डको दश किलोमिटर मध्ये चार किलोमिटर सडकखण्ड कालोपत्रे गरिएको छ ।
चालु आर्थिक वर्ष २०८१/०८२ को बजेटबाट रणनीतिक सडकको शुन्यबिन्दु मार्मा गाउँपालिका–३ बिटुले देखी वडा नम्बर ३ कै कोपरे सम्मको चार किलोमिटर सडकखण्डलाई कालोपत्रे गरिएको सडक विभाग अन्तर्गतको सडक डिभिजन कार्यालय, बैतडीका इन्जिनियर एवम् सूचना अधिकारी लिलाधर भट्टले जानकारी दिनुभयो ।
दार्चुला जिल्लामा पर्ने बिस किलोमिटर निर्वाचन क्षेत्र रणनीतिक सडकमा सडक डिभिजन कार्यालय, बैतडीले आर्थिक वर्ष २०७९/०८० देखी सडक मर्मत र कालोपत्रेको काम गर्दै आइरहेको छ । आर्थिक वर्ष २०६५/०६६ मा तत्कालीन जिल्ला विकास समिति अन्तर्गतको विकेन्द्रित ग्रामीण पूर्वाधार तथा जीविकोपार्जन सुधार कार्यक्रम (ड्रिलिप) ले उक्त सडकको ट्याक खोलेको थियो । ट्याक खोलेको झण्डै सत्र वर्षपछि केन्द्र सरकारले सडक कालोपत्रे गरेको हो । निर्वाचन क्षेत्र रणनीतिक सडक दश किलोमिटर मार्मा गाउँपालिकामा पर्दछ, भने दश किलोमिटर सडकखण्ड नौगाड गाउँपालिकामा पर्दछ ।
गत चैत देखी सुरु गरिएको बिटुले–पारीबगड चार किलोमिटर सडक कालोपत्रेको काम वैशाखको दश गते सम्पन्न भएको सूचना अधिकारी भट्टले बताउनुभयो । सडक कालोपत्रे गर्न पाँच करोड चालिस लाख रुपियाँ खर्च भएको बताइएको छ । बजेट अभावमा चार किलोमिटर मात्रै सडकखण्ड कालोपत्रे गरिएको तथा अपुग बजेटका लागि आवश्यक कागजात विभागमा पठाइएको उहाँले जानकारी दिनुभयो । नौगाड गाउँपालिकामा पर्ने काँटै–होपरीगाड सडकखण्डको दुई किलोमिटर सडक यस वर्षको असार भित्रै कालोपत्रे गर्न ठेक्का सम्झौता भएको छ । बजेट अपुग भएका कारण बिस किलोमिटर निर्वाचन क्षेत्र रणनीतिक सडक कालोपत्रेको काम सुस्त भएको र टुक्रा टुक्रामा काम गर्नु परेको बताइएको छ ।
यसैबिच खलङ्गा–गोकुलेश्वर सडकखण्ड मर्मतको काम पनि भइरहेको छ । सडक डिभिजन कार्यालय, बैतडी अन्तर्गत पर्ने उक्त सडकखण्डको कालोपत्रे उप्किएको ठाउँहरूमा मर्मतको काम भइरहेको सूचना अधिकारी भट्टले जानकारी दिनुभयो । खलङ्गा–गोकुलेश्वर सडकखण्डको विभिन्न ठाउँमा गरी एक किलोमिटर सडकखण्ड रिह्याब (मर्मत) गर्ने कार्य भइरहेको छ । निर्वाचन क्षेत्र रणनीतिक सडकखण्ड कालोपत्रेको काम राजेन्द्र इन्द्रधनु जेभी निर्माण कम्पनीले गरिरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्