नीति तथा कार्यक्रममा विकास निर्माणका कामलाई उच्च प्राथमिकता दिनुपर्ने सुझाव

काठमाडौँ । सत्तापक्षीय राजनीतिक दलहरूले नीति तथा कार्यक्रम मार्फत लोकतन्त्रलाई थप सुदृढ गर्ने र लोकतन्त्रमाथि भइरहेका आक्रमणलाई सामूहिक रूपले जवाफ दिने गरी कार्यक्रमहरू आउनुपर्ने सुझाव सरकारलाई दिएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको आव्हानमा आज बालुवाटारमा बसेको सत्तापक्षीय राजनीतिक दलको बैठकमा नीति तथा कार्यक्रममा विकास निर्माणका कामलाई उच्च प्राथमिकता दिनुपर्ने विषयमा सुझाव आएको नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।
छलफलमा बजेट छरिएको र स्रोतहरूको अपव्यय भइरहेको अवस्थाको अन्त्य गर्नुपर्ने, युवा पुस्तामा आशा र विश्वास जगाउने गरी कार्यक्रम ल्याइनुपर्ने, अर्थतन्त्रलाई लयमा ल्याउनका लागि सरकारको खर्च गर्ने क्षमता बढाउने लगायतका विषयमा सुझाव आएको पनि उपमहासचिव ज्ञवालीले बताउनुभयो ।
उपमहासचिव ज्ञवालीले शिक्षकहरूको आन्दोलन र समस्या समाधानका लागि वार्ता सकारात्मक रुपमा अगाडी बढेको र भोलिदेखि सहज ढङ्गले पठन पाठन गर्नेगरी वातावरण निर्माण हुने जानकारी दिनुभयो ।
उहाँले शिक्षकहरूले माग गर्दै आएका ऐन बनाउन विधेयक एउटा पक्रियामा भएकाले केही ढिलाइ भएपनि शिक्षकहरूले आन्दोलन स्थगित गरी पठनपाठन शुरु गर्ने विश्वास लिएको बताउनुभयो ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शङ्कर पोखरेल, उपमहासचिवहरू प्रदीपकुमार ज्ञवाली, विष्णुप्रसाद रिमाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, जनता समाजवादी पार्टीका अध्यक्ष अशोक कुमार राईलगायत सहभागी हुनुहुन्थ्यो ।
प्रतिक्रिया राख्नुहोस्