तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनीमा ‘तेस्रो बुद्धिस्ट इन्टरनेशनल ट्राभल मार्ट’ हुँदै

रुपन्देही । विगतका वर्षझैँ यस वर्ष पनि लुम्बिनीमा ‘बुद्धिस्ट इन्टरनेशनल ट्राभल मार्ट’ (बीआईटीएम) हुने भएको छ ।

 २०८२ जेठ ९, १० र ११ गते दिन काठमाडौँ र लुम्बिनीमा आयोजना हुने मार्ट कसरी सञ्चालन गर्ने भन्ने विषयमा नेपाल एशोयिसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट (नाट्टा) केन्द्रले लुम्बिनीमा सरोकारवालासँग छलफल कार्यक्रम सम्पन्न गरेको छ ।  

शनिबार भैरहवामा नाट्टा लुम्बिनी प्रदेश र बुद्धिस्ट अन्तर्राष्ट्रिय ट्राभल्स मार्ट लुम्बिनी प्रदेशका पदाधिकारीबिच भएको छलफलमा नाट्टा केन्द्रिय अध्यक्ष कुमारमणि थपलियाले विगतका वर्ष भन्दा यस वर्ष अझ व्यवस्थित गर्ने गरी सरोकारवालासँग छलफल गरिरहेको बताउनुभयो । 

अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त स्वदेशी तथा विदेशी ट्राभल्सहरूको सहभागिता रहने मार्ट नेपालको पर्यटन प्रवर्द्धनमा विशेष योगदान दिने तेस्रो बुद्धिस्ट अन्तर्राष्ट्रिय ट्राभल्स मार्टका संयोजक जिस्वा तुलाधर श्रेष्ठले बताउनुभयो । उहाँले लुम्बिनी क्षेत्रका पर्यटन क्षेत्रका सरोकारवालासँगको सहकार्य र सक्रियतामा तेस्रो बुद्धिस्ट अन्तर्राष्ट्रिय ट्राभल्स मार्ट गर्ने तयारी गरेको जानकारी दिनुभयो ।

छलफलमा पर्यटन विकास परिषद् लुम्बिनी प्रदेशका सदस्य तथा होटल व्यवसायी महासङ्घ, नेपालका केन्द्रीय उपमहासचिव राजेश मलहोत्राले लुम्बिनीका पर्यटकीय गन्तव्यको प्रचारप्रसारमा बीआईटीएमको कार्यक्रम केन्द्रित हुनुपर्ने बताउनुभयो ।

बुद्धिस्ट साइडहरूमा विदेशी ट्राभल्सहरूको सहभागितामा फार्म ट्रिप, विज्ञहरूबिच प्यानल डिस्कसन अनि लुम्बिनी क्षेत्रका पर्यटकीय गन्तव्यको प्रचार गर्ने गरी नाट्टाको अगुवाइमा हुने बीर्आटीएम उपलब्धिमूलक गराउन सबैको सहकार्य जरुरी रहेको नाट्टा लुम्बिनी प्रदेशका पूर्व अध्यक्ष सागर अधिकारीले बताउनुभयो ।

छलफलमा सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष नेत्र प्रसाद आचार्यले लुम्बिनी क्षेत्रमा हुने बीआईटीएमले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान नहुँदा व्यवसायीमा सृजना भएको निराशालाई चिर्न मद्दत पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । 

लुम्बिनीमा आयोजना हुने बीआईटिएम सफल गराउन प्रदेश स्तरीय समिति पनि गठन गरिएको नाट्टा लुम्बिनीका अध्यक्ष चन्द्रबहादुर थापाले बताउनुभयो । यसअघि पहिलो र दोस्रो बुद्धिस्ट अन्तर्राष्ट्रिय ट्राभल्स मार्ट सम्पन्न भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button