‘कांग्रेसका विभिन्न विभाग सक्रिय हुँदा पार्टीमा ऊर्जा थपेको छ’
ललितपुर । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसका विभिन्न विभागहरू सक्रिय हुँदा पार्टीमा ऊर्जा थपिएको बताउनुभएको छ ।

कांग्रेस पार्टीको विपन्न उत्थान समन्वय विभागद्वारा केन्द्रीय कार्यालय सानेपामा आज आयोजित विपन्न वर्गको पहिचान, उत्थान र विकास गर्न गराउन नीतिगत तथा कार्यक्रम सुझाव सहितको प्रतिवेदन हस्तान्तरण कार्यक्रममा उहाँले विभागहरूको सक्रियताले पार्टीलाई गतिशील, सशक्त र प्रभावकारी बनाएको बताउनुभयो ।
उपसभापति धनराज गुरुङले नीति तथा कार्यक्रम र बजेटको पूर्व सन्ध्यामा आएको प्रतिवेदन महत्त्वपूर्ण भएको बताउनुभयो ।
पार्टीका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस पार्टीलाई विपन्न र गरिबको पार्टी हैन भन्ने आरोपलाई फरक दृष्टिकोणले हेर्नुपर्ने धारणा राख्नुभयो । उहाँले मानिसलाई प्राप्त भएको राजनीतिक, सामाजिक र सांस्कृतिक अधिकार आर्थिक रूपमा विपन्न भएकै आधारमा उपयोग गर्न सकिँदैन भन्नु त्यो केवल औपचारिक भएको बताउनुभयो ।
पूर्व उपसभापति विजयकुमार गच्छदारले विभागले प्रस्तुत गरेको प्रतिवेदनलाई पार्टीले पूर्ण कार्यान्वयन गर्न सक्यो भने १५/२० वर्षसम्म प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।
विपन्न उत्थान समन्वय विभागका प्रमुख डाक्टर गोपाल दहिदले ११ जना सदस्य रहेको समितिले विभिन्न स्रोतबाट सङ्कलन गरेको तथ्य र तथ्याङ्कका आधारमा विपन्न उत्थानका लागि ५६ पेजको प्रतिवेदन तयार पारेको जानकारी गराउनुभयो । प्रतिवेदनमा वडा र स्थानीय तहले जमानी बसेर विपन्नलाई उद्यमशीलता र रोजगारीका लागि ऋण दिनुपर्ने प्रस्ताव समेटिएको उहाँले जानकारी गराउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्