चितवनमा २८ वटा डिप ट्युबवेलबाट थप ८४० बिघामा सिँचाइ गरिँदै
चितवन । चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजनाले चितवनमा २८ वटा डिप ट्युबवेल गाड्दै छ । आयोजनाका अनुसार चालू आर्थिक वर्ष २०८१/८२ मा भरतपुर महानगरमा १४, माडी र राप्तीमा पाँच/पाँच वटा र कालिका एवं रत्न नगरमा तीनवटा डिप ट्युबवेल गाडिँदै छ ।

जिल्लाका विभिन्न स्थानमा २० वटा डिप ट्युबवेल गाडेर सकिएको छ भने ८ वटाको काम जारी छ । २८ वटै ट्युबवेल गाडेर सकिँदा जिल्लामा थप ८४० बिघा जमिनमा सिँचाइ पुग्ने आयोजनाले जानकारी दिएको छ ।
आयोजनाले सिँचाइको कुनै पनि विकल्प नभएको खेतीयोग्य जमिनमा किसानको मागका आधारमा डिप ट्युबवेल गाड्ने गर्छ । भरतपुरमा एउटा ट्युबवेल गाड्न एकै ठाउँमा ३० देखि ३५ बिघा जमिन हुनुपर्ने चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजनाका प्रमुख विश्वबन्धु केसीले जानकारी दिनुभयो ।
किसानहरु समूहमा आए भने समूह दर्ताको काम आयोजनाले नै गरिदिन्छ । भरतपुरमा गाडिएका डिप ट्युबवेलबाट प्रतिसेकेन्ड २० देखि २५ लिटर पानी निकाल्न सकिने उनी बताउँछन् । भरतपुरमा १०० मिटरसम्म गहिराइको एउटा डिप ट्युबवेल गाड्दा औसतमा २० लाख रुपैयाँ लागत लाग्छ । ‘आयोजनाको बजेट कम भएकाले १०० मिटरभन्दा कम गहिराइको ठाउँ छनोट गरेर काम गर्ने गरेका छौँ’, उहाँले भन्नुभयो । डिप ट्युबवेलले जमिनमा पानीको सतहलाई असर नगर्ने उहाँ बताउनुहुन्छ ।
चार बिघाको जमिनमा एउटा स्यालो ट्युबवेल दिन सकिने भएकाले धेरैको माग आएको हुन सक्छ’, उनले भने । आयोजनाको कार्यक्षेत्र चितवन र मकवानपुर हो । आयोजनाले दुई जिल्लामा गरी हालसम्म तीन हजार ७०० हेक्टरमा सिँचाइ सुविधा पुर्याएको जानकारी दिएको छ ।
प्रतिक्रिया राख्नुहोस्