जिसस कास्कीको वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा रूपा गाउँपालिका प्रथम
पोखरा । जिल्ला समन्वय समिति (जिसस) कास्कीको वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा रूपा गाउँपालिका जिल्लामा प्रथम भएको छ ।

जिससले मङ्गलवार पोखरामा एक कार्यक्रम मार्फत सार्वजनिक गरेको नतिजा अनुसार एक सय अंक भारमा रूपा गाउँपालिकाले अन्य पालिकाहरू भन्दा बढी ६८ अंक ल्याउँदै प्रथम भएको हो ।
योजना, बजेट तथा कार्यक्रम व्यवस्थापन तर्फ १६.५, कार्यान्वयन क्षमता तथा व्यवस्थापनतर्फ १७.५, लेखाङ्कन तथा प्रतिवेदनतर्फ १३, अनुगमन मूल्याङ्कन तथा लेखा परीक्षणतर्फ ८.५ र राजस्व व्यवस्थापनतर्फ १२.५ अङ्कसहित ६८ अंक प्राप्त गरी कास्कीका ५ वटा पालिकामध्ये प्रथम हुन सफल भएको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले बताउनुभयो ।
त्यसै गरी १.५ अङ्कले पछि पर्दा अन्नपूर्ण गाउँपालिका यस बर्ष भने दोस्रो भएको हो । अन्नपूर्ण गाउँपालिकाले ६६.५ अंक ल्याउँदै दोस्रो हुँदा मादी गाउँपालिकाले ६१.५ अंक ल्याउँदै तेस्रो भएको छ । त्यसै गरी पोखरा महानगरपालिका भने अन्तिमबाट दोस्रो भएको छ । पोखरा महानगरले ४७.५ अंक ल्याउँदै चौथो हुँदा माछापुच्छ्रे गाउँपालिकाले ४५ अङ्कसहित पाचौं अर्थात् अन्तिम भएको छ । अन्नपूर्ण गाउँपालिका गत वर्ष प्रथम भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्