माओवादी केन्द्रले मात्रै भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न सक्छ : प्रचण्ड
धनगढी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न नेकपा माओवादी केन्द्रले मात्रै सक्ने बताउनुभएको छ ।

पार्टीको तराई मधेस जागरण हुलाकी राजमार्ग अभियान अन्तगत आज कैलालीको झुगामा आयोजित खबरदारी सभालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष प्रचण्डले माओवादी केन्द्रको नेतृत्वले मात्रै देशमा विद्यमान बेथितिको अन्त्य गर्न सक्ने बताउनु भएको हो । प्रचण्डले आफु नेतृत्वको पार्टीले सरकारमा रहँदा सुशासनको पक्षमा काम गरेको,भ्रष्टाचार नियन्त्रणका लागि कठोर कदम चालेकाले सरकारबाट बाहिरिनु परेको बताउनुभयो ।
उहाँले सुशासन र समृद्धि तथा जनताका बिच जानका लागी अभियान थालिएको बताउनु भयो । आगामी निर्वाचनमा माओवादी केन्द्रलाई सबैभन्दा ठुलो दल बनाउने गरि अघि बढ्नु पर्नेमा जोड दिँदै प्रचण्डले देशभर माओवादी केन्द्रप्रति जनताको भरोसा र विश्वास बढेको बताउनु भयो ।

अध्यक्ष प्रचण्डले शिक्षक महासङ्घको मागबारे (शिक्षक आन्दोलन) चाँडो सम्बोधन गरिनु पर्ने बताउनु भयो । अभियान अन्तर्गत अध्यक्ष प्रचण्डले सत्ती, कुटपिटसमेत , बैजपुरमा सहिद तथा बेपत्ता परिवारसँग भेटघाट गर्नु भएको छ । अध्यक्ष प्रचण्डले हसुलियामा जागरण अभियानलाई सम्बोधन गर्नु हुने कार्यक्रम रहेको छ । तराई मधेश जागरण हुलाकी राजमार्ग अभियानमा पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङ लगायतका नेता कार्यकर्ताको सहभागिता रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्