जुम्लामा चौथो प्रादेशिक औद्योगिक महोत्सव सुरु

जुम्ला । जुम्लामा चौथो प्रादेशिक औद्योगिक व्यापार महोत्सव सुरु भएको छ ।
सोमबारदेखि सुरु भएको महोत्सवको कर्णाली प्रदेशसभा सदस्य देवेन्द्र बहादुर शाहीले उद्घाटन गर्नुभयो ।
जुम्ला यतिबेला महोत्सवमय बनेको छ । जिल्लामा आर्थिक गतिविधि बढाउने, भाषा सांस्कृतिको संरक्षण सँगै रैथाने उत्पादनको प्रर्वद्वन गर्ने उद्देश्यले जिल्लाका विभिन्न स्थानमा महोत्सव सञ्चालन भइरहेको छ । जसमा सिंजा गाउँपालिकाको नराकोटमा १० दिने महोत्सव वैशाख १२ गतेदेखि सञ्चालन भएको छ । पातारासी गाउँपालिकामा वैशाख ६ गतेदेखि ९ गते सम्म आयोजित महोत्सव सम्पन्न भइसकेको छ । भने सोमवारदेखि उद्योग वाणिज्य संघ जुम्लाको आयोजनामा १० दिने महोत्सव सुरु भएको छ ।
जुम्लाको कृषि,पर्यटन, भाषा, साँस्कृतिक तथा सभ्यताको संरक्षण,रैथाने बालीको उत्पादन वृद्धि तथा प्रर्वद्वनको लक्ष्यसहित चौथो प्रादेशिक कृषि, पर्यटन, सांस्कृतिक तथा औद्योगिक व्यापार मेलाको आयोजना गरिएको उद्योग वाणिज्य संघका अध्यक्ष पुरिचन्द्र देवकोटाले बताउनुभयो ।
“कोरोनापछि जुम्लामा खासै आर्थिक गतिविधि सञ्चालन हुन सकेका छैनन् । जिल्लाका विभिन्न स्थानमा सञ्चालन भएका महोत्सवले यहाँको आर्थिक गतिविधिलाई चलायमान बनाएको छ । भने रैथाने उत्पादनको बजार प्रर्वद्वनमा टेवा पुराएको छ ।”, उहाँले भन्नुभयो ।
कर्णाली प्रदेशसभा सदस्य देवेन्द्र बहादुर शाहीले जुम्लाको कृषि उत्पादनको बजारीकरण तथा किसानलाई प्रोत्साहन गर्न यस्ता मेला महोत्सवले सहयोग पुराउने उल्लेख गर्नुभयो । साथै महोत्सवमा रैथाने परिकारका स्टल राख्ने किसान तथा व्यवसायीलाई स्थानीय सरकारले विशेष प्रोत्साहन गर्नु पर्नेमा जोड दिनुभयो ।
तातोपानी गाउँपालिकाले वैशाख तेस्रो साता महोत्सव सञ्चालन गर्ने तयारी भइरहेको तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाँईले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्