शिक्षकहरूको आन्दोलनका क्रममा भएको घटनाका विषयमा सरकारको ध्यानाकर्षण
काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरुले शिक्षकहरूको आन्दोलनका क्रममा भएको घटनाका विषयमा सरकारको ध्यानाकर्षण गराउँदै सबैलाई संयमित बन्न आग्रह गर्नुभएको छ ।
सांसदहरुले शिक्षकको आन्दोलनमा क्रममा भएका घटनामा पत्रकार सविना कार्की र आन्दोलनरत शिक्षक घाइते भएको भन्दै उनीहरूको निःशुल्क उपचारको माग गर्नुभयो ।
बैठकको आकस्मिक समयमा सांसद जनार्दन शर्माले शान्तिपूर्ण शिक्षक आन्दोलनमा प्रहरीबाट दमन र भएको भन्दै त्यसको विरोध गर्नुभयो ।
उहाँले समयानुकूल कानुन बनाएर यसअघि शिक्षक र सरकारबीच भएका सम्झौता र जायज मागहरू पुरा गर्दै सहज रुपमा विद्यालयमा पठनपाठन हुने वातावरण बनाउन आग्रह गर्नुभयो ।
सांसद सुमना श्रेष्ठले शिक्षकहरूको आन्दोलनका क्रममा भएको दमनको विरोध गर्दै शिक्षकका न्यायोचित माग पुरा गर्न सरकारसँग माग गर्नुभयो । उहाँले शिक्षकहरूलाई राजनीतिक दलको सदस्यता त्यागेर साझा बन्न पनि आग्रह गर्नुभयो ।
सांसद रोशन कार्कीले शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनका क्रममा शिक्षक र पत्रकार घाइते भएको भन्दै सरकार दमनमा उत्रिएको आरोप लगाउनुभयो । छिरिङ डम्डुल लामा भोटेले गत चैत १९ देखी बैशाख ४ गतेसम्मको अविरल वर्षाबाट रुकुम र हुम्लाका विभिन्न ठाउँमा क्षति पुगेको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो
उहाँले सुख्खा याममा बाढी आउँदा व्यक्तिका घर विद्यालय, स्वास्थ्यचौकिमा क्षति पुर्याएको तथा गाईवस्तु, भेडाबाख्रा र खेतीवाली पुरीएको भन्दै समयमा नै राहत र पुनर्स्थापनाको माग गर्नुभयो ।
सांसद सूर्यबहादुर थापाले शिक्षकहरूलाई संयमित भएर आफ्ना घोषित आन्दोलनका कार्यक्रमहरू अगाडी बढाउन आग्रह गर्दै संसदबाट शिक्षा विधेयक अगाडी बढाउने विषयमा भइरहेका प्रगतिबारे सदनमा जानकारी गराउन शिक्षामन्त्रीलाई आग्रह गर्नुभयो ।
सांसद प्रभु शाहले हिजो राती आएको हावाहुरी र असिना पानीले मधेश प्रदेशमा क्षति पुर्याएको विषयमा सरकारको ध्यानाकर्षण गराउँदै बारा र रौतहटमा बढी क्षति पुगेको बताउनुभयो ।
उहाँले नीजि तथा विद्यालयको छाना उडाएको, तथा सयौँ घर उडाएको, बिजुलीका पोलहरू ढलेको, सञ्चार सेवा अवरुद्ध भएको भन्दै समयमा नै बिजुली र सञ्चार सुचारु गर्न आग्रह गर्दै समयमा नै राहतको व्यवस्था गर्न माग गर्नुभयो ।
रणेन्द्र बराइलीले देशका विभिन्न भागमा दलितहरूमाथि कुटपिट, यौन दुर्व्यवहार, छुवाछुत लगायतका घटनाबाट दलित समुदायका नागरिकहरू आत्महत्या गर्न बाध्य भइरहेको भन्दै दलितमाथिको अन्याय रोक्न माग गर्नुभयो ।
बैठकमा अमरेशकुमार सिंह, कान्तिका सेजुवाल लगायतका सांसदहरुले समसामयिक विषयसँगै शिक्षा ऐन दिएर शिक्षकहरूलाई विद्यालय फर्काउनु पर्ने र आवासीय चिकित्सकको जायज माग पुरा गर्नुपर्ने लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्