तपाईँ सुन्दै हुनुहुन्छः

बैङ्किङ कसुरसम्बन्धी विधेयकमाथि राष्ट्रिय सभाको संशोधन प्रतिनिधि सभाबाट स्वीकृत

काठमाडौँ । बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि राष्ट्रिय सभाबाट भएको संशोधन प्रतिनिधिसभाले स्वीकृत गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेले राख्नुभएको ‘बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिबाट स्वीकृत भएको हो ।

राष्ट्रिय सभाबाट भएको संशोधनमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रियसभाबाट प्राप्त भएका सुझावलाई समेटेर जाँदा विधेयक थप स्पष्ट र प्रभावकारी हुने सरकारको बुझाइ रहेको बताउनुभयो । “राष्ट्रिय सभाको सुझावप्रति मेरो सम्मान छ, त्यसलाई ग्रहण गर्नुपर्छ भन्ने दृष्टिकोण सभासमक्ष राख्दछु,” उहाँले भन्नुभयो ।

त्यसअघि सांसद प्रेम सुवालले मुलुकको सन्तुलित विकास र जिल्लाभित्रै मात्र बसाइँसराइ हुने व्यवस्था गरिए बैङ्किङ कसुर स्वतः नियन्त्रण हुँदै जाने बताउनुभयो । सांसद सराज अहमद फारुकीले विधेयकमाथि राष्ट्रिय सभाबाट प्राप्त सुझावलाई समेटेर जानुपर्नेमा जोड दिनुभयो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button