तपाईँ सुन्दै हुनुहुन्छः

प्रचण्डद्वारा राप्ती नदी कटान क्षेत्रको निरीक्षण

नेपालगञ्ज । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाँकेस्थित राप्ती नदीले कटान गरेको क्षेत्रको  निरीक्षण गर्नुभएको छ । 

पार्टीले सञ्चालन गरेको तराई मधेश जागरण अभियान अन्तर्गत बाँकेको फत्तेपुरमा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्न जाने क्रममा प्रचण्डले आज नदी कटान क्षेत्रको अवलोकन गर्नुभएको हो । 

उक्त क्षेत्रमा तटबन्ध निर्माण नहुँदा राप्ती नदीमा आउने बाढीबाट राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ र ७  तथा नरैनापुरको वडा नम्बर ५ र ६ का तटीय क्षेत्रका बस्तीहरू प्रभावित हुँदै आएका छन् । ती स्थानमा अहिले संघीय सरकारबाट विनियोजित बजेटमार्फत काम सुरु भइसकेको छ । त्यसक्रममा अध्यक्ष प्रचण्डले तत्काल हुन सक्ने क्षतिको न्यूनीकरणका लागि उपलब्ध बजेटबाट काम अघि बढाउन आयोजना प्रमुखलाई निर्देशन दिनुभएको छ । साथै उहाँले थप बजेटका लागि पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ । 

पूर्व मन्त्री एवम् माओवादी स्थायी समितिका सदस्य महेश्वर गहतराज अथक, पूर्व उपसभामुख पूर्णा कुमारी सुवेदी, पूर्व लुम्बिनी प्रदेश मन्त्री कृष्ण केसी नमुना र वडा नम्बर ७ का वडाध्यक्ष रामलखन थारूले राप्ती नदीले गर्दै आएको कटान, डुबान र तटबन्ध निर्माणमा भइरहेको ढिलाइबारे अध्यक्ष प्रचण्डलाई जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button