बैङ्क तथा वित्तीय क्षेत्रको अनुगमन प्रभावकारी बनाउन जरुरी : मुख्यमन्त्री आचार्य
रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले वित्तीय अनुशासन कायम राख्न नेपाल राष्ट्र बैंकले बैङ्क तथा वित्तीय क्षेत्रको अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभएको छ ।

नेपाल राष्ट्र बैङ्कको ७०औँ वार्षिकोत्सव समारोहको आइतबार रुपन्देहीमा उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले बैङ्क तथा वित्तीय क्षेत्रमा बेलाबखत देखा पर्ने समस्याले उपभोक्तालाई चिन्तित बनाउने भएकाले अनुगमन क्षेत्रलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले बैङ्क तथा वित्तीय संस्थाले मुनाफाको केही रकम सामाजिक उत्तरदायित्वमा खर्च गर्नुपर्ने नीतिलाई प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याउनुपर्ने बताउनुभयो । ‘सामाजिक उत्तरदायित्वमा खर्च गर्नुपर्ने रकम सही ढंगले कार्यान्वयन भएको छ कि छैन, प्रदेश तथा स्थानीय सरकारसँग समन्वय गरेर आवश्यकताको आधारमा खर्च भएको छ कि छैन, यसबारे ध्यान दिन जरुरी छ’ मुख्यमन्त्री आचार्यले भन्नुभयो ।

बैङ्क तथा वित्तीय संस्थाले गुनासो नआउने गरी सेवा प्रवाह गर्नुपर्नेमा मुख्यमन्त्री आचार्यले जोड दिनुभयो ।
प्रदेशको समृद्धि र विकासका लागि वित्तीय क्षेत्रसँग समन्वय गरेर प्रदेश सरकार अघि बढ्न तयार रहेको भनाइ मुख्यमन्त्री आचार्यको छ ।
लुम्बिनी प्रदेशका बैङ्कहरूको अभिभावकका रूपमा राष्ट्र बैङ्कको कार्यालय रहेको उल्लेख गर्दै सरकारसँग समन्वय र सहकार्य गरेर अघि बढ्न जरुरी रहेको उहाँले बताउनुभयो । राष्ट्र बैङ्क बैङ्कहरूको बैङ्क भएकाले अनुगमन र नियमनको कामलाई चुस्त बनाउनुपर्ने, बैङ्किङ क्षेत्रमा देखा पर्न थालेका चुनौतीहरूको समाधानका लागि राष्ट्र बैङ्क चनाखो भएर अघि बढ्नुपर्नेमा पनि मुख्यमन्त्री आचार्यले ध्यानाकर्षण गराउनुभयो ।
लुम्बिनी प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारीले नेपाल राष्ट्र बैङ्क सरकारको आर्थिक सल्लाहकार भएको बताउनुभयो । राष्ट्र बैङ्कको अध्ययन, अनुसन्धानलाई सरकारले नीति तथा कार्यक्रम तर्जुमा गर्दा आधारका रूपमा लिने गरिएको पनि उहाँले बताउनुभयो । प्रदेश स्तरमा केन्द्रीय बैङ्कको रूपमा संस्थाको आवश्यकता महसुस गरिएको उहाँको भनाइ छ ।
कार्यक्रममा बैङ्क तथा वित्तीय संस्थामा आवद्ध पदाधिकारी, जनप्रतिनिधि लगायत सम्बद्ध पक्षहरूको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया राख्नुहोस्