तपाईँ सुन्दै हुनुहुन्छः

आधार परियोजनाद्वारा आठ करोडका दर्जनौँ शैक्षिक संरचना निर्माण

जुम्ला । सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि पूर्वाधार निर्माणमा जोड दिँदै सञ्चालन भएको आधार परियोजनाले हिमा,सिंजा र कनकासुन्दरी गाउँपालिकामा एक सय २१ वटा विभिन्न पूर्वाधार निर्माण गरेको छ । जुम्लाको सिंजा क्षेत्रका तीन स्थानीयतहमा विगत २२ महिनादेखि सञ्चालित आधार परियोजनाले २ सय २१ वटा शैक्षिक पूर्वाधार निर्माण गरेको हो । 

प्लान ईन्टरनेश्नल नेपालको आर्थिक सहयोग तथा पेश नेपाल जुम्लाद्वारा सञ्चालित आधार परियोजनाले भूकम्प प्रतिरोधी विद्यालय भवन,मैत्रीपूर्ण कक्षा कोठा,शौचालय,खानेपानी धारा तथा मर्यादित महिनावारीका लागि पूर्वाधार निर्माण गरेको हो । परियोजनाले निर्माण गरेका संरचना,आएको सुधारका विषय समेटिएको प्रतिवेदन सहित परियोजना तीनै पालिकालाई हस्तान्तरण गरिएको छ ।  

आइतबार आयोजित सिकाई आदान प्रदान,सार्वजनिक सुनुवाई तथा परियोजना हस्तान्तरण कार्यक्रममा पेश नेपालका कार्यकारी निर्देशक किशोर न्यौपानले परियोजनाको प्रगति प्रस्तुत गर्नुभयो । 

प्रस्तुत प्रतिवेदनमा आधार परियोजनाले सिंजा क्षेत्रका तीन स्थानीयतहमा सात करोड ९३ लाख ३७ हजार २३५ रुपैयाँ लगानी गरेर सामुदायिक विद्यालयका दर्जनौँ पूर्वाधार निर्माण गरेको उल्लेख छ । 

जसमा तीन पालिकाका ५ वटा विद्यालय भवन तथा २० वटा कक्षा कोठा,६ मैत्रीपूर्ण शौचालय र १८ वटा शौचालय कोठा,४२ वटा खानेपानीका धारा,२० वटा कक्षा कोठामा काठको सिलिङ, द्धाना मर्मत, प्लाष्टर, नाली निर्माण लगायतका काम गरिएको छ । 

त्यस्तै, ६ वटा विद्यालयको ६५ मिटर पक्की घेराबार निर्माण,५ वटा शौचालयमा महिनावारी व्यवस्थापनका लागि उपकरण सहित सुविधा,१० वटा खानेपानी स्टील ट्याङ्की सहयोग लगायतका योजना र कार्यकारी गरी झण्डै १२१ वटा पूर्वाधार निर्माण गरिएको प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । 

कार्यकारी निर्देशक न्यौपानेका अनुसार क्षमता विकास,स्थानीयतहको नीति निर्माण,विद्यालय सुधार योजनामा सहयोग र कर्मचारी जनप्रतिनिधिको क्षमता विकासका क्षेत्रमा पनि लगानी भएको बताउनुभयो । 

क्षमता विकास तर्फ परियोजना मार्फत ३ पालिकाका १० वटा विद्यालयका १२८ शिक्षक, ३१ सय ६८ विद्यार्थी, ५४ सय ९७ जना अभिभावक र १८० जना सामुदायिक कार्यकर्ता प्रत्यक्ष लाभान्वित भएका छन् । शैक्षिक पूर्वाधार निर्माणमा परियोजनाको बजेट अलवा तीन वटा स्थानीयतहले करिब १३ लाख रुपैयाँ लगानी गरेका छन् । 

२०६३ सालमा स्थापना भएको पेश नेपालले सामाजिक रूपान्तरण,पूर्वाधार विकास,जलवायु अनुकूलन,समावेशी शिक्षा,जीविकोपार्जन तथा पोषण वृद्धि,विपद व्यवस्थापन लगायतका क्षेत्रमा विभिन्न २५ वटा दातृ संस्थासँग सहकार्य जुम्ला,मुगु,कालिकोट र  सुर्खेतमा काम गर्दै आएको छ । 

मैत्रीपूर्ण शौचालय, हात धुने स्टेसन, शुद्ध खानेपानी सुविधा, सुधारिएको बच्चा, मोडेल कक्षाकोठा बालमैत्री, अपाङ्गमैत्री, छात्रछात्रामैत्री, अपाङ्गमैत्री शौचालय, बालबालिकाको पहुँचयुक्त धारा, सिकाइमैत्री कक्षा कोठा सहितको सुविधा सबै विद्यालयमा छन् । 

परियोजनाको प्रगतिसहित तीन पालिकालाई कर्णाली प्रदेश सभा सदस्य देवेन्द्र बहादुर शाहीले हस्तान्तरण गरेका छन् । आधार परियोजनाले सिंजा क्षेत्रका तीन पालिका उल्लेखीय रुपमा शैक्षिक पूर्वाधार गरेकामा धन्यवाद दिनुभयो । बनेका संरचनाको स्थायित्व र संरक्षणमा ध्यान समेत अनुरोध गर्नुभयो । 

जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायले पेश नेपालद्वारा सञ्चालित आधार परियोजनाले दुर्गमका विद्यालय पहिचान गरी करोडौँको पूर्वाधार बनाइदिएको र अब पालिकाले शैक्षिक क्षेत्रमा काम गर्नुपर्ने बताउनुभयो । 

कार्यक्रममा तीनै पालिकाका अभिभावक,शिक्षक तथा विव्यस समितिका पदाधिकारीहरूले आधार परियोजना मार्फत नमुना शैक्षिक पूर्वाधार निर्माण गरेपछि पठनपाठनमा सहजता भएको बताएका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button