भेरी अस्पतालमा आगलागी भएपछि ओपिडी र ल्याब सेवा दुई दिन बन्द
नेपालगन्ज । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको प्रेषण अस्पतालको रुपमा रहेको भेरी अस्पतालको ओपिडी र ल्याब सेवा दुई दिन बन्द हुने भएको छ ।
आज भएको आगलागीले ओपिडी भवनमा नोक्सानी पुर्याएपछि भोलि र पर्सि ओपिडी सेवा बन्द गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदीले जानकारी दिनुभयो ।

‘अस्पताल भवनमा रहेको मेडिकल स्टोरमा आज भएको आगलागीका कारण मेडिकल स्टोर, फार्मेसी, ओपिडी भवन लगायतका ठाउँमा क्षति भएको छ’ उहाँले भन्नुभयो–‘तत्कालका लागि अस्पतालको बहिरङ्ग सेवा (ओपिडी) सुचारु गर्न नसकिने भएकोले वैशाख १४ र १५ गते अस्पतालको ओपिडी तथा ल्याब बन्द रहन्छ ।’
अस्पतालमा आज बिहान साँढे १० बजे भएको आगलागीमा करिब ४ करोडको नोक्सानी भएको डा. सुवेदीले बताउनुभयो । फार्मेसीको स्टोरमा रहेको भ्याक्सिन राख्ने फ्रिजबाट आगलागी भएको अनुमान गरिएको छ । आगलागीको कारण भने खुल्न सकेको छैन ।
प्रतिक्रिया राख्नुहोस्