मुख्यमन्त्री सिंहद्वारा बाराका निजी अस्पतालहरूको अनुगमन
वीरगञ्ज । मधेस प्रदेशका मुख्यमन्त्री सतिस सिंहले आज बारा जिल्लाको सदरमुकाम कलैयामा रहेका निजी अस्पतालहरूको अनुगमनलाई तीव्रता दिनुभएको छ ।

शनिबार बिहानैदेखि मुख्यमन्त्री सिंह आफैँ निजी अस्पतालहरूको सेवा प्रवाह, व्यवस्थापन र गुणस्तरीयताको निरीक्षणमा व्यस्त रहनुभयो ।
मुख्यमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार कलैयामा रहेका निजी अस्पतालमध्ये अनुगमनका क्रममा योगशिला अस्पताल मापदण्डविपरीत सञ्चालन भइरहेको पाइएपछि मुख्यमन्त्री सिंहले तत्काल उक्त अस्पताल बन्द गर्न निर्देशन दिनुभएको छ ।
१५ शय्याको सो अस्पतालमा अप्रेसन गर्न नमिल्ने अवस्था रहेको भए पनि मापदण्ड विपरीत अप्रेशन लगायतका कार्य गरिरहेको भेटिएपछि मुख्यमन्त्री सिंहले अस्पताल बन्द गर्न निर्देशन दिनुभएको सचिवालयले जनाएको छ ।
मुख्यमन्त्री सतिस सिंहले गत माघ २५ गते देखि प्रदेशभरिका निजी अस्पतालहरूको अवस्था बुझ्ने अभियान शुरु गर्नुभएको थियो । जनकपुरबाट सुरु भएको यो अभियान अन्तर्गत उहाँले हाल प्रदेशका आठै जिल्लामा रहेका निजी अस्पतालहरूको सेवा सुविधा तथा काम कारबाहीलाई अनुगमन गर्दै मापदण्ड विपरीत सञ्चालित अस्पताललाई कारबाही समेत गर्दै आउनुभएको छ ।
सो अवधिमा मधेस प्रदेशका १ सय ८० भन्दा बढी निजी अस्पतालको अनुगमन मुख्यमन्त्री सिंहले गर्नुभएको र जसमध्ये १ सय ३३ वटा निजी अस्पताल मापदण्डविपरीत सञ्चालित रहेको पाइएको मुख्यमन्त्री कार्यालयले जानकारी दिएको छ ।
प्रतिक्रिया राख्नुहोस्