तपाईँ सुन्दै हुनुहुन्छः

घर–घरमा स्वच्छ खानेपानी पुर्‍याउनु सरकारको प्रमुख लक्ष्य : मन्त्री यादव

धनकुटा । खानेपानी मन्त्री प्रदीप यादवले नेपाली नागरिकका घर–घरमा स्वच्छ र शुद्ध खानेपानी पुर्‍याउनु सरकारको प्रमुख लक्ष्य रहेको बताउनुभएको छ ।

धनकुटास्थित बुढी मोरङ बृहत् लिफ्टिङ खानेपानी तथा सरसफाइ आयोजनाको शिलान्यास गर्नुहुँदै उहाँले नेपाली नागरिकका घर–घरमा स्वच्छ अनि शुद्ध खानेपानी पुर्‍याउने लक्ष अनुसार तीव्र रुपमा काम भइरहेको बताउनुभयो ।

संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबीच संविधान अनुसारको समन्वयमा योजना निर्माण, कार्यान्वयन र निगरानी गरि जनताको अधिकार सुनिश्चित गर्ने सङ्कल्प रहेको मन्त्री यादवले बताउनुभयो ।

दीर्घकालीन दृष्टिकोणसहित सञ्चालनमा ल्याइने यो आयोजना सरकारले नागरिकप्रतिको उत्तरदायित्वप्रति देखाएको प्रतिबद्धताको स्पष्ट प्रमाण भएको उहाँको भनाई छ । आफूले नेपाल सरकारको खानेपानी मन्त्रीको जिम्मेवारी सम्हालेपछि जनतालाई अझै आर्थिक रूपमा सरल र सहजता प्रदान गर्न सह–लगानी मोडेललाई शून्य प्रतिशत बनाउन प्रतिबद्ध रहेको मन्त्री यादवले जानकारी दिनुभयो ।

खानेपानी मन्त्रालयका सचिव इन्जिनियर प्रमीलादेवी शाक्य बज्राचार्यले नेपाली नागरिकलाई शुद्ध, स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यले बुढी मोरङ आयोजना जस्ता परियोजनाहरू देशका विभिन्न कुनामा तीव्र गतिमा अघि बढाउँदै लगिएकाले अब खानेपानीका जटिल चुनौती र समस्या चाँडै समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।

खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक इन्जिनियर रामकुमार श्रेष्ठले आजको यो दिन केवल एउटा खानेपानी आयोजनाको शुरुवात मात्र नभई यो साङ्गुरीगढीवासीको स्वास्थ्य, सम्मान र समृद्ध जीवनशैलीको यात्रामा एउटा महत्वपूर्ण पाइला भएको बताउनुभयो ।

उक्त आयोजनाको मुख्य स्रोत काम्फुवा खोलाबाट प्रति सेकेन्ड २२ लिटर पानी लिफ्टिङ प्रविधिबाट आउने जनाइएको छ । आयोजना कार्यान्वयनको कुल लागत रु सात करोड २१ लाख ७७ हजार सात सय ३७ रहेको संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button