जानकी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
नेपालगन्ज । बाँकेको जानकी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भएको छ । गाउँपालिकाका सबै बालबालिकाले पूर्ण खोप लगाएपछि जानकी खोप सुनिश्चितता घोषणा भएको हो ।

आज एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष छब्बन खाँले गाउँपालिकालाई पूर्ण खोप घोषणा गर्दै बालबालिकालाई रोगबाट बच्नका लागि खोप अति आवश्यक भएकाले खोप लगाउनबाट कुनै पनि बालबालिका छुट्न नहुने भन्दै त्यसका लागि समुदाय स्तरमा स्वास्थ्यकर्मीलाई विशेष निगरानी गर्न र आउने वर्षमा जानकी गाउँपालिकालाई पहिलो पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा हुने तरिकाले काम गर्न समेत निर्देशन दिनुभयो ।
गाउँपालिका अन्तर्गत जन्मेदेखि १५ महिनासम्मका जम्मा ९३४ बालबालिका मध्ये छुटेका २२५ जना बालबालिकाले नियमित रुपमा पूर्ण खोप लगाई शून्यमा झारेपछि मात्र शतप्रतिशत पूर्ण खोप सुनिश्चितता भएको स्वास्थ्य शाखा प्रमुख दल बहादुर रानाले बताउनुभयो ।
स्वास्थ्य कार्यालय बाँकेले जानकीलाई पूर्ण खोप सुनिश्चितता घोषणाको प्रमाणपत्र प्रदान गरेको थियो भने पालिकाको ६ वटै स्वास्थ्य चौकीलाई समेत प्रमाणपत्र प्रदान गरिएको थियो । वार्षिकरुपमा पालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गर्ने कार्यक्रम अन्तर्गत यस वर्ष पनि घोषणा गरिएको हो ।
जनस्वास्थ्य निरीक्षक तमलाल बेलवासेले सञ्चालन गरेको घोषणा कार्यक्रममा गाउँपालिका उपाध्यक्ष रामप्यारी यादव, निमित्त प्रमुख प्रशासकीय अधिकृत मतिन अहमद अन्सारी, स्वास्थ्य कार्यालय बाँकेका निमित्त प्रमुख नरेश श्रेष्ठ, वडाध्यक्षहरू चन्द्रिका प्रसाद गुप्ता, टिकानाथ यादव, जगदिश प्रसाद हरिजन लगायत जनप्रतिनिधि, स्वास्थ्यकर्मी लगायतको सहभागिता रहेको पालिकाका प्रेस सल्लाहकार रवीन्द्र घिमिरेले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्