तपाईँ सुन्दै हुनुहुन्छः

‘ग्रामीण अर्थतन्त्र सुदृढ बनाउन कृषि र वनसँग उद्यमशीलता जोडौँ’

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउन कृषि र वनलाई उद्यमशीलतामा जोड्नुपर्ने बताउनुभएको छ ।

शुक्रबार पाल्पा जिल्लाको निस्दी गाउँपालिकामा निर्माण भएको बहुउद्देश्यीय सभा हलको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले उद्यमशीलताको माध्यमबाट ग्रामीण क्षेत्रको अर्थतन्त्र बलियो बनाउन सकिने बताउनुभयो ।

प्रदेश सरकारले स्थानीय उत्पादन बढाउनका लागि साझेदारी गर्न मिल्ने खालको नीति निर्माण गरेर अगाडि बढेको समेत बताउनुभयो । स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने नीति सरकारको रहेको र उद्यमशीलताको माध्यमबाट आर्थिक सशक्तीकरण गर्न सकिनेमा उहाँले जोड दिनुभयो ।

‘यस ठाउँका महिला दिदीबहिनीहरूले अम्रिसोको खेती गरेर कुचो बनाएर बिक्री वितरण गरी आम्दानी गरिरहेको मैले थाहा पाएको छु’ मुख्यमन्त्री आचार्यले भन्नुभयो ‘यो कार्यका लागि महिला दिदीबहिनीहरूलाई प्रदेश सरकारको तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छु ।’

यस्तै, मुख्यमन्त्री आचार्यले स्थानीय निजामती सेवा ऐन कार्यान्वयनमा ल्याइएको, नियमावली निर्माण गरेर लामो समयदेखि रोकिएको वृत्ति विकास तथा बढुवाको ढोका खोलिएको बताउनुभयो । प्रदेश सरकारले कर्मचारीलाई न्याय दिलाउन कुनै कन्जुस्याइँ नगरेको र भविष्यमा पनि नगर्ने उहाँको भनाइ थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button