वैशाख १४ देखि राष्ट्रिय परिचयपत्रको सहजताका लागि पर्साका ४ स्थानबाट सेवा प्रवाह गरिँदै
वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले राष्ट्रिय परिचय पत्र बनाउन आम जिल्लावासीको सहजताका लागि वैशाख १४ गतेदेखि पर्साका ४ स्थानबाट सेवा प्रवाह गर्ने भएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साले आज जारी गरेको सूचनामा प्रशासन कार्यालयबाट पर्साको बिन्दबासीनी, पर्सागढि, ससुवा प्रसौनी गाउँपालिका र बहुदरमाई नगरपालिकाका स्थानीय बासिन्दालाई राष्ट्रिय परिचय पत्रको सेवा प्रवाह गर्ने जनाएको छ भने ईलाका प्रशासन कार्यालय सुपौलीबाट जिराभवानी, जगरनाथपुर, ठोरी र पटेर्वासुगौली गाउँपालिकाका सर्वसाधारणलाई राष्ट्रिय परिचय पत्र सम्बन्धि सेवा प्रवाह गर्ने भएको छ ।
त्यसैगरी वीरगञ्ज महानगरपालिकाको कार्यालयबाट वीरगञ्जका ३२ वटा वडाका बासिन्दालाई सेवा प्रवाह हुने छ भने पोखरीया नगरपालिकाको कार्यालयबाट पोखरीया नगरपालिका, पकाहमैनपुर, कालिकामाई, छिपहरमाई र धोबिनी गाउँपालिकाका स्थानीय बासिलाई राष्ट्रिय परिचय पत्रको सेवा प्रवाह गरिने पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमन कुमार कार्कीद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।
यसअघि राष्ट्रिय परिचय पत्रसम्बन्धी सम्पुर्ण काम जिल्ला प्रशासन कार्यालयबाट हुँदै आएको थियो ।
प्रतिक्रिया राख्नुहोस्