पोखराको फिर्के पुल निर्माण ठेक्का सम्झौता रद्द
'निर्माण कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस'

कास्की । सडक डिभिजन कार्यालय, पोखराले पोखरा वडा न-४ र ५ जोड्ने फिर्के खोला पुल निर्माणको ठेक्का सम्झौता अन्त्य गरेको छ ।
पुल निर्माणको ठेक्का पाएको श्री शान्ति–आरोग्य जे भी सानेपा ललितपुरले पटक पटक म्याद थपे पनि काम नगरेका कारण ठेक्का सम्झौता अन्त्य गरेको सडक डिभिजन कार्यालय पोखराका प्रमुख सि।डि।ई। नवराज बास्तोलाले जानकारी दिनुभयो ।

२०७३ मा भूपी शेरचन (पोखरा–बागलुङ)राजमार्ग अन्तर्गत सुरुवाती जिरो किलोमिटरदेखि विन्ध्यवासिनी मन्दिरसम्मको ६ लेनको ३ किलोमिटर सडक गण्डकीकै नमूना सडक बनेको थियो । त्यसको २ वर्षपछि फिर्के खोला पुल पनि उस्तै नमूना बनाउने भनी डीपीआर तयार गरेर ठेक्का लगाइएको थियो । ‘यू’ आकारका पिल्लरले पुलको मध्यभागबाट भारवहन हुने गरी फिर्केमा ‘एक्स्ट्रा डोज ब्रिज’ बनाउन ८ असोज २०७५ मा शान्ति–आरोग्यलाई ठेक्का दिइएको थियो ।
डिभिजन कार्यालयले हिजो वैशाख १० गतेको निर्णय बमोजिम ठेकेदार कम्पनीसँगको सम्झौता अन्त्य गरेको सूचना सार्वजनिक गरेको छ । ‘
‘काम पटक्कै नगर्ने, पटक पटक म्याद थप्ने अनि सम्पर्कमै नरहने भएपनि गत वर्ष मङ्सिरबाटै औपचारिक रूपमा सम्झौता तोड्ने प्रक्रियामा अघि बढाएको प्रमुख बास्तोलाले बताउनुभयो ’
अब श्री शान्ति–आरोग्य जे।भी। सानेपा ललितपुरलाई कालोसूचीमा राख्न डिभिजन कार्यालयले सिफारिस गर्ने भएको छ । सार्वजनिक खरिद ऐन २०६३ दफा ५९(८)र ठेक्का सम्झौताको प्रावधान बमोजिम कार्य सम्पादन, पेश्की जमानत र धरौटी वापतको रकम जफत गरिने कार्यालयले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्