लुम्बिनी विश्व शान्तिको सन्देश फैलाउने पवित्र भूमि : मुख्यमन्त्री आचार्य
रुपन्देही । लुम्बिनीमा ‘लुम्बिनी विश्व सम्पदा सम्मेलन २०२५’ सुरु भएको छ । बुधवारबाट सुरु भएको सम्मेलनको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गर्नुभयो ।

लुम्बिनी विकास कोषको आयोजनामा तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पुरातत्त्व विभाग, युनेस्को काठमाडौँ र आईकोमोस नेपालको प्राविधिक सहयोगमा सम्मेलन आयोजना गरिएको हो ।
सन् १९९७ मा युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीमा बुद्धको जन्म इसा पूर्व ६२३ मा भएको ऐतिहासिक प्रमाण अशोक स्तम्भमा उल्लेख छ । सम्मेलनमा लुम्बिनीको पुरातात्त्विक महत्व, संरक्षण, अनुसन्धान र तीर्थयात्रासम्बन्धी विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विशेषज्ञहरूले कार्यपत्र प्रस्तुत गर्ने कार्यतालिका छ ।
दुई दिनसम्म चल्ने सम्मेलनमा विभिन्न सत्रहरूमा विभिन्न वक्ताले विचार प्रस्तुत गर्ने छन् । सम्मेलनले लुम्बिनीको संरक्षण र प्रवर्द्धनमा नयाँ दिशा दिने अपेक्षा गरिएको छ । सम्मेलनले निकालेको निष्कर्षलाई तीन तहका सरकारले कार्यान्वयन गर्ने र साझा योजना निर्माण गर्नुपर्नेमा उद्घाटन सत्रमा जोड दिइएको छ ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी केवल ऐतिहासिक र पुरातात्त्विक स्थल नभई विश्व शान्तिको सन्देश फैलाउने पवित्र भूमि भएको बताउनुभयो । उहाँले लुम्बिनीको संरक्षण, प्रचारप्रसार र दिगो विकासका लागि सबै तहका सरकार, सरोकारवाला र अन्तर्राष्ट्रिय समुदायबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्