तपाईँ सुन्दै हुनुहुन्छः

‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आर्थिक तथा पर्यटन विकासका लागि मेरुदण्ड’

रुपन्देही ।  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दिगो सञ्चालनका लागि प्रदेश सरकारले संघीय सरकारको गम्भीर ध्यानाकर्षण गराएको बताउनुभएको छ ।

सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले बुधबार भैरहवामा आयोजना गरेको विमानस्थलको दिगो सञ्चालनसम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशको आर्थिक तथा पर्यटन विकासका लागि यो विमानस्थल मेरुदण्ड भएको उल्लेख गर्नुभयो । उहाँले विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान भर्न आवश्यक सेवा विस्तारका लागि प्रदेश सरकार साझेदारी गर्न तयार रहेको स्पष्ट पार्नुभयो ।

संघीय सरकारले प्रदेश सरकारलाई स्वास्थ्य परीक्षणको जिम्मेवारी दिएमा त्यसलाई पूरा गर्ने प्रतिबद्धता जनाउँदै उहाँले स्वास्थ्य परीक्षण, श्रम स्वीकृति र भिसा सेवाहरू तत्काल विस्तार गर्न बारम्बार ध्यानाकर्षण गराइएको बताउनुभयो । भिम अस्पताललाई स्वास्थ्य परीक्षणको जिम्मेवारी दिन सकिने उहाँको भनाइ थियो ।

उहाँले व्यवसायीहरूको साथमा प्रदेश सरकार रहेको र विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडानका लागि पहलको नेतृत्व प्रदेश सरकारले लिने स्पष्ट पार्नुभयो ।

कार्यक्रममा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, लुम्बिनी प्रदेश सभा सदस्यहरू तुल्सी प्रसाद चौधरी, भोज प्रसाद श्रेष्ठ, हेमा बेल्बासे, देवी प्रसाद चौधरी,  सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इस्तियाक अहमद खान, नेपाल उद्योग वाणिज्य महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण शर्मा, सिद्धार्थ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष ठाकुर कुमार श्रेष्ठ, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्र प्रसाद आचार्य, महासचिव कृष्ण प्रसाद घिमिरे लगायतले मन्तव्य राख्नुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button