यातायातका साधनलाई अपाङ्गतामैत्री बनाइने: मन्त्री दाहाल
काठमाडौँ । सरकारले उपत्यकामा सञ्चालन हुने यातायातका साधनलाई अपाङ्गतामैत्री बनाउने जनाएको छ ।

पानीजहाज विधेयकमाथिको दफावार छलफल गर्न आज बसेको राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले साझा यातायातले सुरु गरेको अपाङ्गतामैत्री अभियानलाई सरकारी तबरबाट अघि बढाइने बताउनुभयो ।
मन्त्री दाहालले नेपालका लागि पानीजहाज सञ्चालन नयाँ अभ्यास भएकाले तत्काल ऐन आवश्यक भएको र बाँकी कामहरू नियमावली र कार्यविधि बनाएर काम गर्न सकिने बताउनुभयो ।
बैठकमा पानीजहाज कार्यालयमा कर्मचारी नियुक्ति, काम कर्तव्य र अधिकारका साथै आपराधिक क्रियाकलापमा सहभागी भए गरिने सजायका विषयमा पनि छलफल भएको छ ।

बैठकमा पानीजहाज कार्यालयमा नियुक्ति हुने निरीक्षकका सम्बन्धमा पनि छलफल भएको छ ।
समितिको सभापति तुलसाकुमारी दाहालले विधेयक छलफलको अन्त्यमा पुगेको र भोलि बस्ने बैठकले पारित गर्ने जानकारी दिनुभयो ।
यसअघि बैठकमा आन्तरिक तथा बाह्य जलमार्गमा पानीजहाज सञ्चालन गर्न अनुमति लिनुपर्ने, नवीकरण गर्नुपर्ने, पानी जहाजमा राष्ट्रिय झण्डा अनिवार्य राखिनुपर्ने र बन्दरगाह सुनिश्चित गरिनुपर्ने विषयमा समितिमा सहमति जुटिसकेको छ ।
छलफलमा समितिका सांसदहरु डा. वेदुराम भुषाल, सुरेश आलेमगर, तारामान स्वारलगायतले पानी जहाज सञ्चालन अघि पानीजहाजको सर्भे गर्नुपर्ने, आधिकारिक संस्थाले सर्भे गर्नुपर्नेलगायतका संशोधन प्रस्तुत गर्नुभयो ।
सांसदहरुले पानीजहाज सञ्चालनका लागि बन्दरगाहको समेत सर्भे गर्ने प्रावधान राख्न संशोधन पेस गर्नुभयो ।
समितिमा पानीजहाज विधेयकको परिच्छेद ५ सम्म छलफल भई पारित भइसकेको छ ।
जसअन्तर्गत पानीजहाज सञ्चालन सम्बन्धि व्यवस्था, पानीजहाज निर्माणसम्बन्धी व्यवस्था,जलमार्गको रुट निर्धारण र प्रयोग सम्बन्धि व्यवस्था र पानीजहाजको स्वामित्वका सम्बन्धमा सांसदहरूबिच सहमति जुटिसकेको समिति सभापति तुलसा कुमारी दाहालले जानकारी बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्